भोटेकोशी बाढीका शव बढ्दै गएपछि त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, अब १० शव मात्रै अट्ने

30 August, 2026 20 Views
भोटेकोशी बाढीका शव बढ्दै गएपछि त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, अब १० शव मात्रै अट्ने
20

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मृतकका शव फेला पर्ने क्रम बढेसँगै काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृहमा चाप बढेको छ। अस्पतालका अनुसार अब त्यहाँ बढीमा १० वटा शव मात्र थप राख्न सकिने अवस्था छ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार बाढीपछि हालसम्म रसुवाबाट ६० वटा शव अस्पतालमा ल्याइएको छ। तीमध्ये ८ वटा शवको पहिचान भइसकेको छ भने २८ वटा शवको पोस्टमार्टम भइरहेको छ।

अस्पतालको शवगृहमा १५० शव राख्न सक्ने क्षमता भए पनि ८० वटा शव पहिलेदेखि नै रहेको डा. चौधरीले बताए। बाँकी क्षमतामध्ये पनि अहिले करिब १० वटा शव मात्रै थप राख्न सकिने अवस्था रहेको उनको भनाइ छ।

शव आउने क्रम अझै जारी रहेकाले अस्थायी शव भण्डारणको तत्काल व्यवस्था गर्नुपर्ने डा. चौधरीले सुझाव दिएका छन्। उनका अनुसार सम्बन्धित सरकारी निकायले उपयुक्त स्थान पहिचान गरी अस्थायी शव भण्डारणको प्रक्रिया अघि बढाउन आवश्यक छ।

बाढीमा ज्यान गुमाएकाहरूका शव कुहिएको र क्षतविक्षत अवस्थामा फेला परिरहेको अस्पतालले जनाएको छ। यस्तो अवस्थामा शवलाई फ्रिजमा राखेर मात्र पहिचान गर्न समेत कठिन हुने डा. चौधरीको भनाइ छ।

उनका अनुसार अहिले फेला परेका धेरै शव सहज रूपमा पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसैले शव व्यवस्थापनका लागि तत्काल उपयुक्त वैकल्पिक उपाय खोज्नुपर्ने देखिएको छ।

 
 
 

Related Post