काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न स्थानीय तहका प्रमुखहरूसँग उद्धार, राहत तथा पुनःव्यवस्थापनका विषयमा छलफल गरेका छन्।
आइतबार पार्टीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न गठन गरेको परिचालन संयन्त्रको बैठकअघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ प्रभावित पालिका प्रमुखसँग छलफल गरेका हुन्।
छलफलमा पालिका प्रमुखहरूले बाढीका कारण उत्पन्न समस्या, प्रभावितको उद्धार, शव व्यवस्थापन तथा राहत वितरणका विषयमा जानकारी गराएका थिए। साथै सडक, पुल, विद्युत् र सञ्चारलगायतका अत्यावश्यक पूर्वाधार तथा कनेक्टिभिटी तत्काल पुनःस्थापना गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न पार्टीको परिचालन संयन्त्रलाई सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिएका छन्।
खरेलका अनुसार बाढीमा फसेकाहरूको उद्धार, शव व्यवस्थापन र राहत वितरणसँगै क्षतिग्रस्त सडक, पुल तथा विद्युत् सेवा तत्काल सञ्चालनमा ल्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेबारे छलफल भएको हो।
लामिछानेले प्रभावित क्षेत्रको अवस्थाबारे बागमती प्रदेशका मुख्यमन्त्रीसँग समेत छलफल गरेको खरेलले जानकारी दिए। उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा आइतबार साँझ बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा पनि छलफल हुने बताइएको छ।
यसअघि सरकारले भोटेकोशी बाढीबाट प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।