काठमाडौं । नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएको छ। सुरुङभित्र फसेकाहरूसँग सम्पर्क स्थापित हुन नसकेपछि उद्धार टोलीले अत्याधुनिक उपकरण प्रयोग गर्दै प्वाल फराकिलो बनाउनेदेखि आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारीसमेत अघि बढाएको हो।
फसेका मानिसहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको ९० सदस्यीय संयुक्त टोली परिचालन गरिएको छ। उद्धार टोलीमा नेपाली सेनाका ६६ जना, सशस्त्र प्रहरीका १८ जना र नेपाल प्रहरीका ६ जना सुरक्षाकर्मी रहेका छन्। सशस्त्र प्रहरीको टोलीमा तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीसमेत परिचालन गरिएको छ।
उद्धारका क्रममा टोलीले आज दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’मा पुगेर प्वाल बनाउन सफल भएको थियो। त्यसपछि उद्धारकर्मीहरूले डोरीको सहायताले अर्थात् र्यापेलिङ गर्दै सुरुङभित्र तल झरेर फसेका मानिसहरूलाई आवाज दिँदै सम्पर्क गर्ने प्रयास गरेका थिए।
तर, उद्धारकर्मीहरूले पटक–पटक बोलाउँदा पनि सुरुङभित्रबाट कुनै प्रतिक्रिया प्राप्त नभएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। त्यसपछि फसेका व्यक्तिसम्म पुग्ने बाटो सहज बनाउन ठूला उपकरण परिचालन, प्वाल थप फराकिलो पार्ने र आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारी एकसाथ अघि बढाइएको छ।
सुरुङभित्रको अवस्था जोखिमपूर्ण रहेकाले उद्धार कार्य निकै कठिन बनेको बताइएको छ। यद्यपि, कठिन तथा जोखिमपूर्ण परिस्थितिका बाबजुद सुरक्षाकर्मी, प्राविधिक तथा उद्धारकर्मीहरू अहोरात्र उद्धार प्रयासमा जुटिरहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्धार कार्यलाई तीव्र बनाउन उपलब्ध सबै सम्भावित उपाय अपनाइँदैछ र फसेका व्यक्तिहरूको उद्धारलाई प्राथमिकतामा राखेर संयुक्त टोलीले निरन्तर काम गरिरहेको छ।