भोटेकोशी बाढीले ल्याएको माछा खानु घातक हुन सक्छ : विज्ञ

30 August, 2026 18 Views
भोटेकोशी बाढीले ल्याएको माछा खानु घातक हुन सक्छ : विज्ञ
18

काठमाडौं । रसुवामा गत बुधबार आएको विनाशकारी भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै मानिस, पशुपक्षी तथा अन्य जीवजन्तुसमेत बगाएको छ । बाढीपछि नदी किनारमा मानिसका शवसँगै ठूलो आकारका माछासमेत थुप्रिएका छन् ।

बाढीले बगाएर ल्याएका माछा समात्न नदी किनारका बस्तीमा मानिसहरूको भीड लागेको छ । कतिपयले बोक्नै मुस्किल हुने आकारका माछासमेत घर लैजाँदै गरेको देखिएको छ । तर, स्वास्थ्य विज्ञहरूले भने बाढीले बगाएर ल्याएका यस्ता माछा खानु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै नखान सुझाव दिएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार बाढी आएको ३–४ दिनपछि फेला परेको माछा बिग्रिसकेको हुन सक्ने भएकाले त्यसको गुणस्तरमा गम्भीर शंका गर्नुपर्ने हुन्छ ।

सामान्य अवस्थामा बजारमा बिक्री हुने माछा बरफमा राखिने भएकाले केही समयसम्म सुरक्षित रहन्छ । कतिपय माछा जिउँदै पानीमा राखिने भएकाले उपभोक्ताले किन्दा ताजा अवस्थामै पाउने गर्छन् । तर बाढीले बगाएर ल्याएको माछा कति समयदेखि मरेको हो, कहाँबाट आएको हो र कुन अवस्थामा रहेको थियो भन्ने यकिन गर्न नसकिने डा. शर्माको भनाइ छ ।

उनका अनुसार बाढीको पानीमा दिसा–पिसाब, लेदो, फोहोर तथा विभिन्न किसिमका प्रदूषक र हानिकारक रसायन मिसिएको हुन सक्छ । त्यस्तो दूषित पानीमा रहेको माछामा हानिकारक सूक्ष्मजीव तथा रोगकारक जीवाणु हुन सक्ने भएकाले सेवन गर्दा फुड पोइजन हुने जोखिम उच्च हुन्छ ।

बाढीले बगाएर ल्याएको माछामा कोलिफर्म, साल्मोनेला लगायतका हानिकारक जीवाणु हुन सक्ने विज्ञहरूको भनाइ छ । यस्ता माछा खाँदा पेट दुख्ने, वाकवाकी लाग्ने, झाडापखाला हुनेलगायतका समस्या देखिन सक्छन् । संक्रमण गम्भीर भएमा ज्यानसमेत जोखिममा पर्न सक्छ ।

माछालाई राम्रोसँग सफा गरेर पकाउँदा बाहिरी सतहमा रहेका केही फोहोर तथा जीवाणु हट्न सक्ने भए पनि त्यसले माछाको शरीरभित्र प्रवेश गरिसकेका सबै प्रदूषक हट्ने ग्यारेन्टी नहुने डा. शर्माले बताइन् । कतिपय सूक्ष्मजीवले उत्पादन गरेका विषाक्त पदार्थ खाना पकाउँदा समेत पूर्ण रूपमा नष्ट नहुन सक्ने भएकाले पकाएर खाँदा पनि जोखिम रहन सक्छ ।

बाढी प्रभावित क्षेत्रमा दूषित पानी र वातावरणका कारण विभिन्न रोग तथा महामारी फैलिने सम्भावना समेत बढ्ने भएकाले बाढीले बगाएर ल्याएको माछा मात्रै नभई अन्य खाद्यवस्तु पनि प्रयोग नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।

बाढीपीडित क्षेत्रमा बसोबास गर्ने नागरिकले दूषित पानी नपिउने, बाढीमा बगेका खाद्यवस्तु प्रयोग नगर्ने, खानेकुरा राम्रोसँग जाँच गरेर मात्र खाने तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ ।

विज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछि जीवन जोगाउने चुनौतीसँगै अर्को स्वास्थ्य संकट निम्तिन नदिन पनि विशेष सावधानी आवश्यक हुन्छ । त्यसैले लोभ गरेर बाढीले बगाएर ल्याएको माछा वा अन्य खाद्यवस्तु सेवन नगर्नु नै सुरक्षित उपाय हो ।

Related Post