यसपालिको दशैंको फूलपाती (१३ असोज)देखि प्रदर्शनमा आएका तीन फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुर’को ८ दिनको व्यापारिक आँकडा सार्वजनिक भएको छ । बुधबार चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गते साँझ ११ः५५ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । ८ दिनमा तीन फिल्मले ९ करोडभन्दा बढीको ग्रस कमाइ गरेका छन् ।
तीन फिल्ममध्ये कमाइमा सबैभन्दा अगाडि ‘बलिदान’ देखिएको छ । यसले १ लाख १९ हजार ५ सय ६१ वटा टिकट बिक्री बापत ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ कमाइ गरेको छ । ‘हरिबहादुरको जुत्ता’ भने कमाइमा दोस्रो स्थानमा छ । ९० हजार ९ सय ४७ वटा टिकट बिक्री गर्दै यो फिल्मले ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ जोडेको छ ।
त्यस्तै, ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैयाँ कमाइ गरेको छ । यसको ८ दिनमा ६८ हजार ३२ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको रिपोर्टमा देखिन्छ । बोर्डका अनुसार यो व्यापारिक रिपोर्ट वार्षिक अध्यावधिक समेत भएका हलहरुको हो । यसबाहेक कुनै स्थानमा फिल्म प्रदर्शन भएको पाइएमा कारबाही गरिने बोर्डले जनाएको छ ।
‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले ८ दिनमा कति कमाए ?
128