काठमाडौं । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका मासु तथा माछा पसलमा सडेको मासु र कुहिएको माछा बिक्रीका लागि राखिएको पाइएको छ। नगरपालिकाको अनुगमन टोलीले १९ वटा पसल अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त १०९ किलो माछा तथा मासु बरामद गरी नष्ट गरेको छ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको टोलीले बिहीबार गरेको अनुगमनका क्रममा ८३ किलो मासु र २६ किलो माछा फेला पारेको हो। बरामद खाद्यवस्तु खाल्डोमा गाडेर नष्ट गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिए।
उनका अनुसार केही पसलमा प्यान नम्बरसमेत नभेटिएको र पटक–पटक सुधार गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेका थिए। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने गतिविधि रोक्न अनुगमन गरिएको र मापदण्ड पालना नगर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।
अनुगमनमा सहभागी पशु सेवा कार्यालयका प्रमुख डा. शीतल भट्टराईले विगतको तुलनामा पसलको सरसफाइमा केही सुधार देखिए पनि बिक्रीका लागि कुहिएका माछा र सडेको मासु राख्ने समस्या कायमै रहेको बताए।
अनुगमन टोलीले खाद्यवस्तुको गुणस्तर, पसलको सरसफाइ, माछा तथा मासु भण्डारण गर्ने तरिका र व्यवसाय सञ्चालनका लागि आवश्यक कागजातको अवस्थासमेत जाँच गरेको थियो।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिने र मापदण्डविपरीत कारोबार गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ।