काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार देशका यी दुई प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ।
पछिल्लो २४ घण्टामा अछामको रामारोशनमा सबैभन्दा बढी १२ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ। अन्य केही प्रदेशका स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ।
महाशाखाले कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका लागि पहेँलो चेतावनी जारी गरेको छ। धान काट्ने तथा भित्र्याउने समय भएकाले किसानलाई मौसमको पूर्वानुमान र चेतावनी हेरेर मात्र काम गर्न आग्रह गरिएको छ।
महाशाखाले मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न पनि अनुरोध गरेको छ।