*चुनिखेल सिक्री लुटपाटका मुख्य आरोपित कर्मा तामाङ प्रहरीको गोली लागेर पक्राउ*

02 August, 2026 19 Views
*चुनिखेल सिक्री लुटपाटका मुख्य आरोपित कर्मा तामाङ प्रहरीको गोली लागेर पक्राउ*
19

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा भएको सिक्री लुटपाट घटनामा संलग्न भई फरार रहेका मुख्य आरोपित कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न खोजिएको थियो। पक्राउ गर्ने क्रममा तामाङले आफूसँग रहेको खुकुरी प्रहार गर्दै प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली चलाएको जनाएको छ।

प्रहरीको गोली लागेर घाइते भएका तामाङलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको थियो। उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

तामाङ हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका छन्। उनको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङ चुनिखेलमा भएको सिक्री लुटपाट घटनापछि फरार रहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, अन्य व्यक्तिको खोजी तथा पक्राउ अभियान जारी रहेको छ।

Related Post