चन्द्रमामा बढ्दो अन्तरिक्ष फोहोरले वैज्ञानिकको चिन्ता बढायो

05 August, 2026 15 Views
चन्द्रमामा बढ्दो अन्तरिक्ष फोहोरले वैज्ञानिकको चिन्ता बढायो
15

काठमाडौं। चन्द्रमामा वर्षौंदेखि जम्मा हुँदै आएको मानव निर्मित फोहोर अन्तरिक्ष वैज्ञानिकका लागि नयाँ चिन्ताको विषय बनेको छ। पछिल्लो पटक स्पेस–एक्सको रकेटको एउटा टुक्रा चन्द्रमामा ठोक्किएपछि यस विषयमा थप चासो बढेको छ।

मेरिकी कम्पनी ुस्पेस–एक्सु ले प्रक्षेपण गरेको रकेटको करिब ४ हजार किलो तौलको एउटा टुक्रा बुधबार चन्द्रमामा उच्च गतिमा ठोक्किन लागेको छ। यो घटनासँगै चन्द्रमामा थुप्रिएका मानव निर्मित वस्तुहरूले बनाएको फोहोरबारे चासो उत्पन्न भएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार चन्द्रमाको सतहमा बुधबार भएको पछिल्लो अन्तरिक्ष दुर्घटनासँगै मानव निर्मित वस्तुहरूको संख्या करिब ३,००० पुगेको छ। यसको कुल तौल झन्डै १ लाख ९० हजार किलो पुगेको अनुमान छ।

सन् १९५९ सेप्टेम्बरमा सोभियत संघको ुलुना २ु चन्द्रमामा पुग्ने पहिलो यान बनेयता सुरू भएको यो फोहोर थुप्रिने क्रम आजसम्म निरन्तर जारी छ।

नासाको ुएपोलोु कार्यक्रमका ६ वटा सफल अवतरणबाट मात्रै ७९६ वटा वस्तुहरू चन्द्रमामै छाडिएका थिए। त्यसमा सोभियत र चिनियाँ ल्यान्डरहरूका साथै विभिन्न देश र निजी कम्पनीहरूका दुर्घटनाग्रस्त रकेटका टुक्राहरू जोड्दा चन्द्रमामा फोहोरको ठूलो चाङ लागिसकेको बिबिसीले लेखेको छ।

पृथ्वीको जस्तो वातावरण वा जीवमण्डल चन्द्रमामा नभएकाले फोहोरको डुंगुरले त्यहाँको प्राकृतिक वातवारणमा खासै हानि नपुऱ्याए पनि त्यसले भविष्यमा पार्न सक्ने असरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूको सबभन्दा ठूलो चिन्ता एपोलो मिसनका ऐतिहासिक अवतरण स्थलहरूलाई भविष्यका नयाँ यानहरूले क्षति पुऱ्याउलान् कि भन्नेमा छ।

दोस्रो चिन्ता, चन्द्रमाको अहिलेसम्म कसैले नछोएको माटोमा अर्बौं वर्ष पुरानो भौगर्भिक इतिहास सुरक्षित छ। त्यसलाई पृथ्वीबाट पठाइने अन्तरिक्ष यानका टुक्रा र अन्य मानव निर्मित वस्तुहरूको फोहोरले धुमिल पार्नुअघि नै अध्ययन गर्नुपर्ने चुनौती वैज्ञानिकहरूलाई छ।

तेस्रो र सबभन्दा ठूलो चिन्ता भनेको भविष्यमा हुने सम्भावित दुर्घटना हो।

नासा र स्पेस–एक्सले चेतावनी दिए अनुसार आउँदो दशकमा चन्द्रमामा जाने यानहरू र त्यसको कक्षमा हुने ओहोरदोहोर तीव्र रूपमा बढ्दै छ। यस्तो अवस्थामा चन्द्रमाको कक्ष र सतहमा तैरिरहेका पुराना फोहोरका टुक्रा नयाँ अन्तरिक्ष मिसनका लागि ठूलो जोखिम बन्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

पृथ्वीबाट पठाइने अन्तरिक्ष यानका टुक्रा चन्द्रमाको सतहमा ठोक्किँदा नयाँ खाडल बन्नुका साथै धुलोको ठूलो मुस्लो उड्छ। यसले चन्द्रमाको वातावरणमा केही न केही खलबली मच्चाउने वैज्ञानिकहरूको आकलन छ।

सँगसँगै, ती खाडल र र धुलोको अध्ययनबाट भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण जानकारी प्राप्त हुन सक्ने पनि वैज्ञानिकहरूले बताएका छन्।

बुधबार चन्द्रमाको सतहमा खसेको ४ हजार किलो वजनको टुक्रा चन्द्रमाको पश्चिमी किनारतर्फ रहेको आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रतिघन्टा करिब ८ हजार ६९० किलोमिटर ९५,४०० माइल० को गतिमा ठोक्किएको अनुमान छ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार यो टुक्रा चन्द्रमामा ठोक्किँदा करिब तीन टन टिएनटी विस्फोट बराबरको ऊर्जा निस्किनेछ। त्यसबाट करिब २७ मिटर चौडा र ५ मिटर गहिरो खाडल बन्न सक्ने अनुमान गरिएको छ।

ठक्करबाट उड्ने धुलो र ढुंगाका कण केही किलोमिटरसम्म अन्तरिक्षमा फैलिन सक्ने र टेलिस्कोपबाट केही मिनेटसम्म देख्न सकिने वैज्ञानिकहरूको विश्वास छ। तर ठक्करको चमक एक सेकेन्डभन्दा कम समय रहने र नांगो आँखाले देख्न कठिन हुने बताइएको छ।

लस आलामोस राष्ट्रिय प्रयोगशालाका वैज्ञानिक बेन्जामिन फर्नान्डोले यो घटनाले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र उपकरणमाथि यस्ता ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न सहयोग पुग्ने बताए।

उनले खगोलविदहरूलाई अवलोकनमा सहभागी हुन पनि आग्रह गरेका छन्।

नासाको लुनार रिकोनिसेन्स अर्बिटर र दक्षिण कोरियाको दानुरी चन्द्र अर्बिटरले ठक्करअघि र त्यसपछिका तस्बिर खिचेर अध्ययन गर्ने तयारी गरेका छन्।

चन्द्रमामा हुने यस्तो अनियन्त्रित ठक्कर दुर्लभ मानिन्छ। यसअघि सन् २०२२ मा चीनको एउटा रकेटको भाग चन्द्रमाको अर्को सतहमा ठोक्किएको थियो।

त्यसअघि सन् २००९ मा नासाले एलक्रस अभियानअन्तर्गत चन्द्रमाको दक्षिण ध्रुव नजिक बरफको खोजी गर्न जानाजानी एउटा रकेटको भागलाई चन्द्रमामा ठोक्काएको थियो।

सन् १९७० को दशकमा पनि एपोलो कार्यक्रमका क्रममा नासाले स्याटर्न–५ रकेटका केही भागहरू चन्द्रमामा खसालेर भूकम्पीय प्रभावको अध्ययन गरेको थियो।

रूसको लुना–२५ अभियान २०२३ मा नियन्त्रण गुमाएर चन्द्रमामा ठोक्किएको थियो भने भारतको चन्द्रयान–२ र इसराइलको बेरेसिट ल्यान्डर पनि २०१९ मा अवतरण क्रममा चन्द्रमामा ठोक्किएका थिए।

रोयटर्सका अनुसार नासा र स्पेस–एक्सले भविष्यमा यस्ता अनियन्त्रित ठक्कर रोक्ने उपायबारे छलफल गरिरहेका छन्।

दशकको उत्तरार्द्धदेखि आर्टेमिस कार्यक्रमअन्तर्गत चन्द्रमामा नियमित मानव अभियान र स्थायी आधार निर्माण गर्ने योजना भएकाले चन्द्रमाको वरिपरि अन्तरिक्ष फोहोरको व्यवस्थापन महत्त्वपूर्ण बन्दै गएको छ। स्पेस–एक्सले यो ठक्कर नियोजित नभएको स्पष्ट पारेको छ।

कम्पनीकी नासा विज्ञान तथा ड्रागन कार्यक्रम निर्देशक जुलियाना स्काइम्यानले पत्रकारहरूसँग भनिन्, ुसौर्य गतिविधि र गुरूत्वाकर्षण शक्तिको संयुक्त प्रभावले यो रकेटको भागलाई चन्द्रमातर्फको मार्गमा पुर्‍याएको हो।

सामान्यतया यस्ता रकेटका चरणहरू आफ्नो काम पूरा गरेपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर जलेर नष्ट हुने वा समुद्रमा खस्ने गर्छन्। तर चन्द्रमातर्फको यो अभियानका लागि बढी ऊर्जा आवश्यक परेकाले दोस्रो चरण पृथ्वीको कक्षाभन्दा बाहिर अन्तरिक्षमै रहेको थियो। इन्धन पनि सकिसकेको हुँदा त्यसलाई नियन्त्रण गर्न सम्भव नभएको स्पेस–एक्सले जनाएको छ।

यस वर्षको सुरूतिर मात्रै खगोलविदरूले यसको टुक्रा अन्ततः चन्द्रमामा पुग्ने निष्कर्ष निकालेका थिए।

Related Post