के अमेरिकाको लामो दूरीका मिसाइल सकिन लागेका हुन्?

05 August, 2026 17 Views
के अमेरिकाको लामो दूरीका मिसाइल सकिन लागेका हुन्?
17

काठमाडौं। इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्नो विश्वव्यापी भण्डारमा रहेका अधिकांश निर्देशित मिसाइल प्रयोग गरिसकेको एक रिपोर्टले दाबी गरेको छ।

सीबीएस न्युजले यस विषयमा जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै युद्धका क्रममा अमेरिकाले धेरैजसो निर्देशित मिसाइल प्रयोग गरेको जनाएको हो।

रिपोर्टअनुसार, ‘अपरेसन एपिक फ्युरी’ अभियानमा अमेरिकाले विशेषगरी आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (ATACMS) र प्रिसिजन स्ट्राइक मिसाइल (PrSM) को लगभग सबै मौज्दात प्रयोग गरेको थियो।

यसअघि समाचार संस्था रोयटर्सले पनि सोही अभियानमा अमेरिकाले आफ्ना ‘लगभग सबै’ लामो दूरीका मिसाइल प्रयोग गरेको रिपोर्ट सार्वजनिक गरेको थियो।

सीबीएस न्युजका अनुसार अमेरिकासँग रहेका इन्टरसेप्टर मिसाइल र लामो दूरीका मिसाइलको मौज्दात अहिले निकै घटेको छ। यसले अमेरिकी प्रशासनका लागि नयाँ चुनौती सिर्जना गरेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा युद्धको सुरुमै उच्च सटीकताका हतियार ठूलो मात्रामा प्रयोग गरिएकाले यही गतिमा सैन्य अभियानलाई लामो समयसम्म सञ्चालन गर्न कठिन हुन सक्ने उल्लेख गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार यी मिसाइलको भण्डार सीमित छ। विशेषगरी प्याट्रियट र थाड (THAAD) इन्टरसेप्टर मिसाइलको मौज्दात घट्दै गएको विषयलाई लिएर बढी चिन्ता व्यक्त गरिएको छ।

यी मिसाइल तीव्र गतिमा प्रयोग भइरहेका छन्। तर अमेरिकी रक्षा उद्योगले त्यही अनुपातमा नयाँ मिसाइल उत्पादन गर्न नसकेको रिपोर्टमा उल्लेख छ।

यद्यपि अमेरिकी रक्षा मन्त्रालयका वरिष्ठ प्रवक्ता शन पार्नेलले अमेरिकी सेनासँग आवश्यक सबै सैन्य क्षमता रहेको बताएका छन्। उनका अनुसार अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो र देशको सुरक्षा तथा राष्ट्रिय हितको रक्षा गर्न पर्याप्त सैन्य क्षमता सुरक्षित रहेको छ।

 

Related Post