विश्वकप छनोटको दौडमा नेपाललाई अझै प्लेअफको आशा

05 August, 2026 56 Views
विश्वकप छनोटको दौडमा नेपाललाई अझै प्लेअफको आशा
56

काठमाडौं । सन् २०२७ को एकदिवसीय विश्वकपका लागि अन्तिम छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने भएको छ। नेपाल शीर्ष चारमा परेर सिधै छनोट खेल्ने सम्भावना लगभग सकिए पनि प्लेअफमार्फत विश्वकप छनोटमा पुग्ने अवसर भने अझै बाँकी छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति सार्वजनिक गरेको छ। प्रतियोगिता सन् २०२७ को फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुनेछ। यद्यपि, प्रतियोगिता कहाँ आयोजना हुने भन्ने निर्णय भने अझै गरिएको छैन।

यसपटक छनोट प्रणालीमा परिवर्तन गरिएको छ। १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेता टोली सिधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा पुग्नेछ। दोस्रो, तेस्रो र चौथो हुने टोलीले 'सुपर सिरिज' खेल्नेछन्, जसको विजेता टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछ।

मुख्य विश्वकप भने सन् २०२७ को अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ।

छनोट प्रतियोगितामा दुई पूर्ण सदस्य राष्ट्र, लिग–२ का शीर्ष चार टोली र प्लेअफबाट छनोट भएका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यता, आईसीसी विश्वकप लिग–२ मा नेपालको अवस्था कमजोर बनेको छ। नेदरल्यान्ड्समा भएको पछिल्लो त्रिकोणात्मक सिरिजमा नामिबिया र नेदरल्यान्ड्ससँग चारै खेल गुमाएपछि नेपाल शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको हो।

नेपालले हालसम्म ३२ खेलमा ११ जित, १९ हार र दुई खेल नतिजाविहीन रहँदा २४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। अब नेपालले ओमानमा ओमान र क्यानडाविरुद्ध अन्तिम चार खेल खेल्न बाँकी छ।

गणितीय रूपमा सम्भावना रहे पनि नेपाल शीर्ष चारमा पुग्ने अवस्था निकै कठिन देखिएको छ। त्यसैले नेपालको ध्यान अब प्लेअफ प्रतियोगितातर्फ केन्द्रित हुने देखिन्छ।

आईसीसीको नियमअनुसार लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगबाट छनोट भएका चार टोलीबीच प्लेअफ हुनेछ। त्यसमा शीर्ष चारभित्र पर्न सके नेपालले एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछ।

हालको अवस्थाअनुसार लिग–२ बाट नेपाल, नामिबिया, क्यानडा र यूएई प्लेअफमा पुग्ने सम्भावना छ भने च्यालेन्ज लिगबाट जर्सी, कुवेत, युगान्डा र इटालीले स्थान सुरक्षित गरिसकेका छन्।

लिग–२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि नेपालका लागि प्लेअफ नै विश्वकप छनोटसम्म पुग्ने अन्तिम अवसर बनेको छ। त्यसैले ओमान र क्यानडाविरुद्धका बाँकी खेललाई नेपालले प्लेअफ तयारीका रूपमा उपयोग गर्नुपर्ने देखिएको छ।

 
 

Related Post