54
काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये दुई जना पक्राउ परेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार उनीहरूलाई मंगलबार रुकुम पश्चिमबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।
शुक्रबार राति कारागारको सुरुङ खनेर उनीहरूसहित आठ जना कैदी फरार भएका थिए। फरार कैदीहरूको खोजी गर्ने क्रममा प्रहरीले चेकजाँचका लागि सवारीसाधन रोक्न संकेत गरेको थियो। सोही क्रममा जिपमा सवार उनीहरू भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको एसएसपी राठौरले जानकारी दिए।
फरार अन्य छ जना कैदीको खोजी कार्य जारी रहेको छ।