ट्रम्पले सम्झौताको संकेत दिइरहँदा इरानमाथि अमेरिकी आक्रमण, मध्यपूर्वमा फेरि युद्धको खतरा

ट्रम्पले सम्झौताको संकेत दिइरहँदा इरानमाथि अमेरिकी आक्रमण, मध्यपूर्वमा फेरि युद्धको खतरा
50

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सहमतिको सम्भावना औंल्याइरहेका बेला अमेरिकी सेनाले इरानको रणनीतिक महत्त्व बोकेको कश्म टापुमा आक्रमण गरेको छ। पछिल्ला केही सातादेखि अमेरिकाले इरानमाथि सीमित सैन्य कारबाही गर्दै आए पनि ती आक्रमण सार्वजनिक नगरी गोप्य राखेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

इरानसँगको युद्ध अमेरिकाले जितिसकेको दाबी गर्दै आएका ट्रम्पकै कार्यकालमा अमेरिकी सेनाले सैन्य गतिविधि जारी राखेको पछिल्लो घटनाले दुई देशबीचको तनाव पुनः चर्किन सक्ने संकेत गरेको छ।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धमा अमेरिका विजयी भएको दाबी गरेका थिए। लामो समयदेखि प्रत्यक्ष लडाइँ नभएकाले अहिलेको अवस्थालाई युद्ध भन्न मिल्ने वा नमिल्ने भन्नेमा समेत उनले प्रश्न उठाएका थिए।

तर अमेरिकी अधिकारीहरूका अनुसार इरानबाट अमेरिकी सेना र व्यावसायिक जहाजमाथि हुन सक्ने सम्भावित खतरालाई रोक्न अमेरिकाले सीमित सैन्य आक्रमण जारी राखेको छ।

सोमबार कश्म टापु आसपास विस्फोटका घटना भएको विवरण सार्वजनिक भएका थिए। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले जनाएअनुसार ती आक्रमणको उद्देश्य स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न सक्ने इरानको क्षमता कमजोर पार्नु रहेको छ। अमेरिकाले यी कारबाहीलाई रक्षात्मक कदमका रूपमा व्याख्या गरेको छ।

अमेरिकी लडाकु विमानमाथि इरानी क्षेप्यास्त्र प्रहार

अमेरिकी अधिकारीहरूका अनुसार सोमबार भएको एक घटनामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकी लडाकु विमानलाई लक्षित गरी सतहबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसपछि अमेरिकी विमानले आत्मरक्षाका लागि जवाफी कारबाही गरेको बताइएको छ।

त्यस्तै, कश्म टापुबाट प्रहार गरिएको अर्को इरानी क्षेप्यास्त्रलाई अमेरिकी सेनाले बीचमै निष्क्रिय पारेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन्। उनका अनुसार उक्त क्षेप्यास्त्र व्यावसायिक जहाजलाई लक्षित गरी प्रहार गरिएको थियो।

यसअघि इरानमाथि गरिएका सैन्य आक्रमणबारे अमेरिकाले सार्वजनिक रूपमा जानकारी दिने गरेको थियो। तर पछिल्ला कारबाही भने औपचारिक रूपमा सार्वजनिक नगरिएको अधिकारीहरूको भनाइ छ। ठूलो स्तरको युद्ध पुनः सुरु गर्ने संकेत नदिन अमेरिकाले पछिल्ला आक्रमण गोप्य राखेको बताइएको छ।

किन महत्त्वपूर्ण छ कश्म टापु ?

कश्म टापु स्ट्रेट अफ हर्मुजको मुखमा अवस्थित छ। विश्वव्यापी तेल तथा ग्यास व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यो समुद्री मार्गको सुरक्षामा उक्त टापुको रणनीतिक भूमिका छ।

कश्म टापुमा इरानका भूमिगत क्षेप्यास्त्र केन्द्र, नौसैनिक अखडा तथा पानी प्रशोधनका प्रमुख संरचनाहरू रहेका छन्। यसअघि पनि अमेरिका र इरानबीचको द्वन्द्वका क्रममा उक्त क्षेत्र निशानामा पर्दै आएको थियो।

स्ट्रेट अफ हर्मुजबाट विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास ढुवानी हुने भएकाले यहाँ हुने सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजार, तेलको मूल्य र समुद्री व्यापारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

इरानको चेतावनी : निर्णय गर्ने जिम्मा अमेरिकाको

इरानले भने युद्ध अन्त्यका लागि हुने सम्भावित सम्झौतामा आफ्नो अडान स्पष्ट रहेको जनाएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै अब सम्झौता गर्ने वा नगर्ने निर्णय अमेरिकाले लिनुपर्ने बताएका थिए।

उनका अनुसार इरानले आफ्ना माग स्पष्ट रूपमा प्रस्तुत गरिसकेको छ र ती माग उचित तथा तार्किक छन्।

इरानका सर्वोच्च नेता मोज्तबा खमेनीसहित उच्च अधिकारीहरूले अमेरिकाले पुनः युद्ध सुरु गरे मध्यपूर्वभित्र र बाहिरसमेत जवाफी कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।

निर्वाचनपछि अमेरिकाको सैन्य रणनीति बदलिने संकेत

ट्रम्पले अमेरिकी संसदीय निर्वाचनपछि इरानविरुद्ध पुनः व्यापक सैन्य कारबाही हुन सक्ने संकेत यसअघि पनि दिएका थिए। अमेरिकी प्रशासनभित्र इरानमाथि थप हवाई आक्रमण गर्ने वा आर्थिक दबाब बढाउने विषयमा छलफल भइरहेको बताइएको छ।

ट्रम्पसमक्ष इरानमाथिका आर्थिक प्रतिबन्ध थप कडा बनाउने र उसको व्यापारमाथिको नाकाबन्दी विस्तार गर्नेलगायत विकल्प प्रस्तुत गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरले गत साता ह्वाइट हाउस पुगेर ट्रम्पलाई इरानसँगको पछिल्लो द्वन्द्वबारे जानकारी गराएका थिए।

त्यस्तै, अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र युद्ध सामग्री पठाएको बताइएको छ। निर्वाचनलगत्तै छोटो तर तीव्र सैन्य कारबाही हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खाडी क्षेत्रका मुलुकहरूलाई समेत तयारी अवस्थामा रहन भनिएको जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

एकातिर ट्रम्प इरानसँग कूटनीतिक सम्झौताको सम्भावना देखाइरहेका छन् भने अर्कोतिर अमेरिकी सेनाको सैन्य गतिविधि रोकिएको छैन। यस्तो दोहोरो रणनीतिले अमेरिका–इरान सम्बन्ध थप जटिल बन्ने देखिएको छ। निर्वाचनपछि वासिङ्टनले वार्तालाई प्राथमिकता दिन्छ वा सैन्य दबाब बढाउँछ भन्ने विषयले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारको आगामी दिशा निर्धारण गर्न सक्नेछ।

Related Post