जापानको पीआर विवादपछि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

जापानको पीआर विवादपछि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता
42

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। जापानमा स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा प्रश्न उठेपछि उनले संसदीय सुनुवाइ प्रक्रियाबाटै आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा थापाले नाम फिर्ता लिने सम्बन्धमा पत्र पठाएका थिए। जापानमा पीआर रहेको विषय सार्वजनिक भएपछि उनको संसदीय सुनुवाइ स्थगित गरिएको थियो। त्यसपछि उनले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए।

नाम फिर्ता लिने पत्रमा थापाले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई उच्च सम्मान गर्दै कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता महत्वपूर्ण हुने विश्वासका साथ आफूले नाम फिर्ता लिएको उल्लेख गरेका छन्।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले व्यक्तिगत विषयसँग जोडिएको स्वार्थको द्वन्द्वको प्रश्न उठेकाले राजदूत नियुक्तिको प्रक्रिया अघि नबढाउने जानकारी गराएका थिए।

सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका १३ जना राजदूतमध्ये यसअघि १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो।

Related Post