काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका समाचार र आरोपप्रति आपत्ति जनाएको छ। कांग्रेसले ती समाचारहरू तथ्यहीन, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यले प्रेरित रहेको दाबी गरेको छ।
सभापति गगनकुमार थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै सरकारका पछिल्ला गतिविधिबाट उत्पन्न विवाद र जनचासोका विषयलाई अन्यत्र मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएको हो।
विज्ञप्तिमा कांग्रेसले विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसबाट भएका नेतृत्व र निर्णयसम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको उल्लेख गरेको छ। साथै, संविधान, पार्टी विधान र सर्वोच्च अदालतको आदेशअनुसार सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप मजबुत बनाएको दाबी गरिएको छ।
कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनविरुद्ध हुने सरकारी गतिविधिको सशक्त प्रतिवाद गर्ने स्पष्ट पारेको छ। सरकारका सकारात्मक काममा साथ दिने तर संविधान र लोकतान्त्रिक मूल्यविपरीतका गतिविधिमा खबरदारी गर्ने उसको भनाइ छ।
यसैबीच, सभापति थापाले उठाउँदै आएको बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान गर्न कांग्रेसले पुनः माग गरेको छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारलाई पूर्ण साथ रहने पनि विज्ञप्तिमा उल्लेख छ।
तर अनुसन्धानका क्रममा नेपाल प्रहरीको छापसहितका कागजात, कथित बयान तथा अन्य विवरण छानिछानी सार्वजनिक भइरहेको भन्दै कांग्रेसले अनुसन्धान प्रभावित पार्ने वा प्रमाण लुकाउने प्रयास हुन सक्ने आशङ्का व्यक्त गरेको छ।
अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकामाथि समेत प्रश्न उठिरहेको भन्दै उसले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन माग गरेको छ।
कांग्रेसले आफू निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट सूचना, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई दोषी ठहर गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। साथै, आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न र सम्बन्धित पक्षलाई तथ्य तथा प्रमाणका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न आग्रह गरेको छ।