न्यायालय विवादमा सर्वोच्चको ५ बुँदे निर्णय : निष्पक्ष छानबिन गर्न आग्रह, समाचारबाट विचलित नहुन न्यायाधीशलाई निर्देशन

न्यायालय विवादमा सर्वोच्चको ५ बुँदे निर्णय : निष्पक्ष छानबिन गर्न आग्रह, समाचारबाट विचलित नहुन न्यायाधीशलाई निर्देशन
66

काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर सार्वजनिक भएका विवादास्पद समाचारबारे सर्वोच्च अदालतले पाँचबुँदे निर्णय गरेको छ।

सोमबार (कात्तिक १६) बसेको सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फुलकोर्ट) ले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।

पछिल्लो समय कथित बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरूको नाम जोडिएपछि न्यायालयमाथि प्रश्न उठ्दै आएको छ। यसअघि शुक्रबार बसेको पूर्ण बैठकमा समेत उक्त विषयमा छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन।

सोमबारको बैठकले संविधान र कानुनको सर्वोच्चता तथा विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको स्पष्ट पारेको छ। साथै, सञ्चारमाध्यममा प्रकाशित समाचारबारे हुने अनुसन्धान तथा छानबिनमा कानुनबमोजिम जवाफदेहिता निर्वाह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।

सर्वोच्चले छानबिनको निष्कर्ष सार्वजनिक हुनुअघि कसैलाई दोषी करार गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने किसिमका समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

त्यस्तै, सार्वजनिक भएका समाचारका आधारमा विचलित नभई नियमित न्यायिक कार्यमा क्रियाशील रहन सर्वोच्च अदालतसहित देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई आग्रह गरिएको छ।

न्यायालयसँग सम्बन्धित पछिल्ला विवादले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामाथि बहस भइरहेका बेला सर्वोच्चको यो निर्णय आएको हो।

Related Post