काठमाडौं । गत साता करिब ६० अंकले उकालो लागेको सेयर बजारमा नयाँ साताको पहिलो कारोबार दिनमै गिरावट आएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घट्दै २६५७.५० विन्दुमा झरेको हो।
आजको गिरावट १.२१ प्रतिशत हो। बजारमा बिक्री चाप बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि कारोबार रकम भने ७ अर्ब रुपैयाँ नाघेको छ।
सोमबार ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार कित्ता सेयर ७० हजार २२८ पटक कारोबार हुँदा कुल ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये २५२ वटाको सेयर मूल्य घटेको छ भने २१ वटाको मूल्य बढेको छ। बाँकी ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
बजार घटिरहेका बेला बेनी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक लाभ लिएका छन्। उक्त कम्पनीको सेयर मूल्य १३.५८ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, सोमबार कुनै पनि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट देखिएन।
समूहगत परिसूचकतर्फ सोमबार सबै समूह राताम्मे भएका छन्। बैंकिङसहित नौ समूहको सूचक एक प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रह्यो। कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख, कुमारी बैंकको २७ करोड ९१ लाख, लुम्बिनी विकास बैंकको २३ करोड ४८ लाख र मकर जितुमाया सुरी हाइड्रोपावरको २० करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
गत साता निरन्तर सुधार देखिएको बजारमा नयाँ साताको सुरुवातमै आएको गिरावटले लगानीकर्तामाझ पुनः दबाब सिर्जना गरेको छ।