काठमाडौं । भारतीय गोर्खा सेनामा नेपाली युवाको भर्ती प्रक्रिया तत्काल पुनः सञ्चालन गर्न माग गर्दै अखिल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ।
संघले भारतीय सेनामा नेपाली युवाको भर्ती रोकिँदा रोजगारीको अवसर गुमिरहेको भन्दै भर्ती प्रक्रिया अघि बढाउन र यससम्बन्धी सूचना सार्वजनिक गर्न सरकारसँग माग गरेको हो।
प्रदर्शनकारीहरूले बेरोजगार नेपाली युवाका लागि रोजगारीको व्यवस्था गर्न तथा पूर्वगोर्खा सैनिकसँग सम्बन्धित संघसंस्थाको दर्ता र नवीकरण प्रक्रियालाई सहज बनाउन पनि माग गरेका छन्।
भारतले सन् २०२२ मा अग्निपथ योजना लागू गरेपछि नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया रोकिएको हो। उक्त योजनाअन्तर्गत चार वर्षका लागि अग्निवीर भर्ना गर्ने व्यवस्था छ।
तर, नयाँ भर्ती प्रणालीबारे नेपाल र भारतबीच सहमति जुट्न नसक्दा नेपाली युवाका लागि भारतीय गोर्खा सेनाको भर्ती प्रक्रिया अझै अन्योलमा छ।