काठमाडौं । युद्धले घरबार मात्र होइन, परिवार र प्रियजनसँगको साथसमेत खोस्छ। वर्षौँसम्मको विस्थापन, अभाव र अनिश्चितताबीच युक्रेनको रुसी नियन्त्रणमा रहेको दक्षिणी सहर ओलेश्कीबाट उद्धार गरिएका सयौँ नागरिक स्वदेश फर्किएपछि त्यहाँ भावुक पुनर्मिलनका दृश्य देखिएका छन्।
युद्धविरामको सहमतिपछि सञ्चालन गरिएको उद्धार अभियानमार्फत उनीहरूलाई सुरक्षित रूपमा युक्रेन फर्काइएको हो। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको पहलले उद्धार अभियानलाई सम्भव बनाउन सहयोग गरेको बताइएको छ।
स्वदेश फर्किने क्रममा सबैभन्दा बढी चर्चा ५४ वर्षीय दिमित्रो र उनकी पत्नी लारिसाको पुनर्मिलनले पाएको छ। दिमित्रोले १ हजार ७११ दिनपछि पत्नीलाई भेटेका हुन्। लामो समयदेखि पत्नीको प्रतीक्षामा रहेका उनी भेट हुने दिन गन्दै बसेका थिए।
युक्रेन र बेलारुसको सीमामा पत्नीलाई पर्खिरहेका दिमित्रोको नजर उद्धार गरिएका नागरिक बोकेको बसतर्फ थियो। शनिबार दिउँसो बसबाट लारिसा ओर्लिएपछि उनले पत्नीलाई अँगालोमा बाँध्दै पटक–पटक चुम्बन गरे। वर्षौँपछि भएको भेटमा दुवै भावुक बने।
लारिसाको स्वास्थ्य अवस्था निकै कमजोर देखिएको थियो। कब्जाका क्रममा उनले आफ्नो शरीरको करिब एक तिहाइ तौल गुमाएकी थिइन्। लामो समयपछि सुरक्षित रूपमा घर फर्किन पाउँदा भने उनको अनुहारमा खुसी झल्किएको थियो।
लारिसाले आफ्नो पीडा सुनाउँदै आफूमात्र नभई आफूजस्तै कठिन परिस्थितिमा जीवन बिताइरहेका अन्य नागरिकको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिन्। उनले युद्ध अन्त्य भई शान्ति र विजय प्राप्त हुने दिनको प्रतीक्षामा रहेको बताइन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत नागरिक स्वदेश फर्किएको जानकारी दिँदै उद्धार अभियानमा मध्यस्थता गरेकोमा मेलानिया ट्रम्पप्रति आभार व्यक्त गरेका छन्। विश्वको ध्यान पुग्दा मानिसहरूको जीवन बचाउन सकिने उनको भनाइ थियो।
मेलानिया ट्रम्पले पनि सामाजिक सञ्जाल एक्समार्फत ओलेश्कीको घटनाले युद्धभन्दा मानवतालाई प्राथमिकता दिन सकिने सन्देश दिएको उल्लेख गरेकी छन्।
अभाव र भोकमरीबीच बित्यो जीवन
ओलेश्कीमा पछिल्ला वर्षहरूमा नागरिकले अत्यन्त कठिन मानवीय अवस्था सामना गर्नुपरेको थियो। सन् २०२३ मा नजिकैको नोभा काखोभ्का बाँध भत्किएपछि आएको बाढी र त्यसपछिको युद्धले सहरमा ठूलो क्षति पुर्याएको थियो।
युक्रेनी अधिकारीहरूका अनुसार पछिल्ला महिनामा सहरमा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको चरम अभाव देखिएको थियो। विद्युत्, ग्यास र आधारभूत सेवासमेत अवरुद्ध हुँदा नागरिकको दैनिक जीवन थप कष्टकर बनेको थियो।
उद्धार गरिएका केही नागरिकले महिनौँदेखि पर्याप्त खाद्यान्न पाउन नसकेको बताएका छन्। एक महिलाले एक वर्षभन्दा बढी समयदेखि रोटी खान नपाएको र आफ्नै बारीमा फलाएका गोलभेँडा तथा काँक्रो खाएर जीवन धान्नुपरेको अनुभव सुनाइन्।
उद्धार गरिएका नागरिकलाई सीमामा स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचार तथा पोषणसम्बन्धी सहायता उपलब्ध गराएको थियो। लामो समय कुपोषणमा रहेका मानिसलाई एकैपटक धेरै खाना खुवाउँदा स्वास्थ्यमा जोखिम हुन सक्ने भएकाले सावधानीपूर्वक पोषणयुक्त खाना दिनुपर्ने चिकित्सकहरूले बताएका छन्।
उद्धार गरिएकामध्ये केही घाइते, पक्षघातबाट प्रभावित तथा हिँडडुल गर्न नसक्ने अवस्थाका नागरिकसमेत थिए। एक उद्धार गरिएका नागरिक अलेक्सान्दरले आफूलाई नर्कबाट बाहिर निस्किएजस्तो महसुस भएको बताएका थिए। खाद्यान्नको अभावमा पुराना डिब्बाबन्द खानेकुरा र अचार खाएर बाँच्नुपरेको उनको भनाइ थियो।
तीन वर्षपछि भेटिए बाबु र छोरीहरू
उद्धार अभियानले छुट्टिएका परिवारलाई पुनः एकै ठाउँमा ल्याएको छ। झान्ना प्ताखोभा र उनका छोरीहरू एलिजावेता तथा दरिया युद्ध सुरु भएपछि युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा पुगेका थिए। तर उनका श्रीमान् मिखाइलो पाली भने घरको रेखदेख गर्ने भन्दै ओलेश्कीमै बसेका थिए।
परिवारसँग पुनर्मिलन हुने आशामा बसेका मिखाइलोले वर्षौँसम्म कठिन परिस्थितिको सामना गर्नुपर्यो। बिजुली, ग्यास र तापको सुविधा नहुँदा उनले आफैँ चुलो बनाए, कुखुरा पाले र तरकारी खेती गरेर जीवन धाने।
तीन वर्षपछि परिवारसँग भेट हुँदा मिखाइलोले बसबाट ओर्लिनेबित्तिकै भीडमा आफ्ना छोरीहरूलाई चिनेका थिए। लामो समयको दूरीपछि भएको यो पुनर्मिलनले उद्धार अभियानको मानवीय महत्त्वलाई थप उजागर गरेको छ।
जोखिमपूर्ण मार्ग हुँदै उद्धार
ओलेश्कीबाट युक्रेन नियन्त्रित क्षेत्रमा पुग्ने बाटोमा बारुदी सुरुङ, ड्रोन आक्रमणको जोखिम र युद्धका भग्नावशेष रहेकाले उद्धार अभियान निकै चुनौतीपूर्ण बनेको थियो। निप्रो नदी पार गरेर सिधै सुरक्षित क्षेत्रमा पुग्न सक्ने अवस्था थिएन।
उद्धार गरिएका नागरिकलाई रुसी नियन्त्रणमा रहेको क्रिमिया हुँदै क्रास्नोदार क्षेत्रको अनापा पुर्याइएको थियो। त्यसपछि विमानमार्फत बेलारुसको गोमेल लगेर बसबाट युक्रेनको सीमासम्म ल्याइएको थियो।
उद्धार अभियानअघि दुई दिनसम्म बारुदी सुरुङ हटाउने काम गरिएको थियो। त्यसपछि स्वदेश फर्किन चाहने नागरिकलाई सुरक्षित मार्गबाट सीमासम्म पुर्याइएको थियो।
यद्यपि ओलेश्कीका सबै बासिन्दाले युक्रेन फर्किने निर्णय गरेनन्। केही नागरिक त्यहीँ बस्न चाहेका छन् भने अर्को समूहले रुस जाने निर्णय गरेको छ। रुसी अधिकारीका अनुसार रुस जाने नागरिकलाई क्रिमियाको सिम्फेरोपोलस्थित अस्थायी आवास केन्द्रमा राखिएको छ।
युद्धअघि ओलेश्कीमा करिब २४ हजार जनसङ्ख्या रहेको द्वन्द्व अनुगमन संस्था इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्ल्यू) को विवरणमा उल्लेख छ। युद्ध सुरु भएपछि ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका थिए भने कतिपय बाध्यतावश सहरमै रोकिएका थिए।
लामो र जोखिमपूर्ण यात्रापछि स्वदेश फर्किएका नागरिकलाई युक्रेनी झण्डासहित सडकका दुवैतर्फ उभिएका मानिसहरूले स्वागत गरेका थिए। वर्षौँदेखि छुट्टिएका परिवारको मिलन र सुरक्षित भविष्यको आशाले युद्धको पीडाबीच पनि उनीहरूमा नयाँ उत्साह थपेको छ।