काठमाडौं — काठमाडौंको चावहिलमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–१ का सुमनप्रसाद अधिकारी रहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहान काठमाडौं महानगरपालिका–७ स्थित चावहिल ओरालोमा दुर्घटना भएको हो।
गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ जाँदै गरेको बाप्र ०२–०५३–१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको प्रदेश ३–०१–००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई तत्कालै उपचारका लागि चावहिलस्थित हेल्पिङ हेन्ड्स अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।