काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्रीवितरणलाई व्यवस्थित र सहज बनाउन ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रममार्फत विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई मर्जरमा लैजाने नीति अघि सारेको हो । नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा ग्यासको सहज बिक्रीवितरण र उपभोक्ता हित प्रवर्द्धनका लागि उद्योग मर्जर नीतिलाई निरन्तरता दिने उल्लेख छ ।
निगमले ग्यास उद्योगहरूलाई मर्जरका लागि आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको छ ।
एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले निगमबाट मर्जरसम्बन्धी पत्र प्राप्त भएको पुष्टि गर्दै उद्योगीहरू आफैँले पनि यस विषयमा प्रस्ताव अघि बढाइरहेको बताए ।
उनका अनुसार नेपालमा ग्यासका ब्रान्डको संख्या घटाउन मर्जर गर्न इच्छुक उद्योगहरूलाई सहज बाटो खोल्न आवश्यक छ । एउटै व्यक्तिका ६ देखि ७ वटासम्म ग्यास ब्रान्ड रहेको उल्लेख गर्दै उनले धेरै ब्रान्ड हुँदा बजारमा उपभोक्ताले चाहेको ब्रान्ड नपाउने समस्या देखिएको बताए ।
हाल नेपालमा ५८ वटा ग्यास ब्रान्ड सञ्चालनमा रहेको निगमको तथ्यांक छ । ब्रान्डको संख्या घटाएर सीमित ब्रान्डमार्फत बिक्रीवितरण गर्दा उपभोक्ताले सहज रूपमा ग्यास पाउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
निगमले मर्जरमा जाने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सोहीअनुसार इच्छुक उद्योगहरूलाई प्रस्ताव पेस गरी प्रक्रिया अघि बढाउन भनिएको छ ।