59
काठमाडौं । २५औँ पटक आमरण अनशनमा बसेका चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सोमबार इलामबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। अस्पताल भर्ना भएसँगै उनको आवश्यक उपचार सुरु गरिएको छ।
विभिन्न माग राख्दै केसीले गत बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा आमरण अनशन सुरु गरेका थिए। अनशनको चौथो दिनमा आइपुग्दा उनको रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन्।
स्वास्थ्य परीक्षणका क्रममा यस्तो अवस्था देखिएपछि चिकित्सकहरूले उनको स्वास्थ्य थप जोखिममा पर्न सक्ने चेतावनी दिएका थिए। त्यसपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।