‘रास्वपालाई हावामा भोट हालेछौँ भन्ने जनताले बुझ्न थाले’ : प्रचण्ड

02 November, 2026 114 Views
‘रास्वपालाई हावामा भोट हालेछौँ भन्ने जनताले बुझ्न थाले’ : प्रचण्ड
114

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदान गर्ने मतदाताले आफ्नो निर्णयप्रति प्रश्न उठाउन थालेको दाबी गरेका छन्।

महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले रास्वपाको सरकारप्रति जनताको बुझाइ बदलिन थालेको बताएका हुन्। उनले बौद्धिक समुदायले सरकारको कार्यशैली बुझिसकेको उल्लेख गर्दै अब गाउँगाउँका नागरिकलाई पनि सरकारका गतिविधिबारे जानकारी गराउनुपर्ने बताए।

‘हावामा भोट हालिएछ, हुरीबतास मात्रै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्,’ प्रचण्डले भने।

उनले सरकारका अलोकतान्त्रिक गतिविधिविरुद्ध पार्टीले जागरण अभियान सञ्चालन गर्ने जानकारी दिए। उक्त अभियानमार्फत सरकारको कार्यशैलीबारे जनतालाई सचेत गराउने उनको भनाइ छ।

सरकारविरुद्ध आन्दोलन गर्ने विषयमा पनि पार्टीले तयारी गरिरहेको उनले बताए। यद्यपि आन्दोलनको स्वरूप र समय परिस्थितिअनुसार तय गरिने उनको भनाइ छ।

यसैगरी, मधेस प्रदेश सरकारको स्थायित्वका लागि लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग सघन छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने प्रचण्डले बताएका छन्।

Related Post