असोज, काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १३ स्थानमा सडक क्षति पुगेको थियो । सोमध्ये करिब ४ किलोमिटर सडक खण्ड अस्थायी मर्मतपछि अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए । उनका अनुसार सडक दुईतर्फी सञ्चालन आइतबारदेखि सुरु हुनेछ। सडक खुलाउन रोशी खोलामा डाइभर्सन निर्माण गरी बगर मिलाउने, खाल्डा पुर्ने र क्षतिग्रस्त भागमा अस्थायी पुनर्निर्माणका काम गरिएको हो । सडक मर्मत कार्य सोमबारदेखि सुरु गरिएको थियो ।
गत वर्षको असोजको बाढीपहिरोले क्षतबिक्षत बनाएको बीपी राजमार्गमा बनाइएको डाइभर्सन यसपटकको बाढीले सबै बगाएको थियो ।