एम्बाप्पेको माफीपछि पनि चीनको कडा प्रतिक्रिया, प्रायोजकदेखि खेल प्रसारणसम्म असर

30 October, 2026 45 Views
एम्बाप्पेको माफीपछि पनि चीनको कडा प्रतिक्रिया, प्रायोजकदेखि खेल प्रसारणसम्म असर
45

काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले चीनका पूर्वराष्ट्रपति माओ त्सेतुङलाई ‘तानाशाह’ भनेपछि चर्किएको विवाद अब अन्त्य हुनुपर्ने फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले बताएका छन्।

डियालोका अनुसार एम्बाप्पेले आफ्नो टिप्पणीबारे स्पष्टिकरण दिँदै माफी मागिसकेका छन् र कसैलाई अपमान गर्ने उद्देश्य नरहेको बताइसकेकाले अब उनलाई आफ्नो खेलमा केन्द्रित हुन दिनुपर्ने समय आएको छ।

यसअघि एम्बाप्पेको क्लब रियल मड्रिड र स्पेनिस ला लिगाले पनि उक्त टिप्पणीप्रति माफी मागेका थिए। ला लिगाका अध्यक्ष जाभियर तेबासले विवाद समाधानका लागि विशेष टोली गठन गर्नुका साथै स्पेनका लागि चिनियाँ राजदूत याओ जिङसँग समेत भेट गरेका थिए।

चीनमा माओ त्सेतुङबारे व्यंग्यात्मक टिप्पणीलाई अत्यन्त संवेदनशील विषय मानिन्छ। माओले सन् १९४९ देखि सन् १९७६ मा आफ्नो निधन नभएसम्म चीनको नेतृत्व गरेका थिए।

चिनियाँ सरकारी सञ्चारमाध्यम ‘चाइना डेली’ले एम्बाप्पेको टिप्पणीले चिनियाँ समर्थकमा व्यापक असन्तुष्टि पैदा गरेको, उनका व्यावसायिक सम्बन्धमा असर परेको र चर्चित व्यक्तिको प्रभावको सीमाबारे सन्देश दिएको जनाएको छ।

विवादपछि चीनको सरकारी प्रसारण संस्था मिगुले रियल मड्रिड र रेसिङ सान्टान्डरबीचको खेल प्रसारण नगर्ने निर्णय गरेको छ। त्यस्तै, दुग्ध कम्पनी मेङनिउ, साङ्घाई मिल्कग्राउन्ड फुड टेक र पेय पदार्थ कम्पनी इस्ट्रोक बेभरेजसहितका चिनियाँ ब्रान्डले एम्बाप्पेसँगको सहकार्य अन्त्य गरेका छन्।

फ्रान्सेली सञ्चारमाध्यम ओएस्ट–फ्रान्ससँग कुरा गर्दै डियालोले एम्बाप्पेले आफ्नो भनाइको सन्दर्भ स्पष्ट पारिसकेकाले विवाद धेरै समय लम्बिनु नहुने आशा व्यक्त गरे। उनले अब यो विषय यहीँ टुंग्याएर एम्बाप्पेलाई सिजनका बाँकी खेल उत्कृष्ट प्रदर्शनसहित खेल्न दिनुपर्ने बताए।

यो विवाद एम्बाप्पेको क्लबस्तरको प्रभावलाई लिएर लामो समयदेखि चल्दै आएको व्यंग्यसँग जोडिएको छ। फ्रान्सेली पोडकास्टमा उनले एउटा मिमबारे चर्चा गर्ने क्रममा आफ्नो अनुहार चिनियाँ नेताको तस्बिरमा जोडिएको देखेको र ती व्यक्ति माओ त्सेतुङ भएको आफूलाई लागेको बताएका थिए। उक्त भिडियो पछि हटाइएको छ।

समर्थकहरूले यसअघि पनि एम्बाप्पेको अनुहार विभिन्न सैन्य तथा राजनीतिक नेताका तस्बिरमा जोडेर मिम बनाउने गरेका थिए। यही कारण केही युरोपेली सञ्चारमाध्यममा उनलाई ‘तानाशाह’ उपनामसमेत दिइएको थियो।

यसबीच चीनको विदेश मन्त्रालयका प्रवक्ताले एम्बाप्पेको माफीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।

Related Post