कक्षा ९ मा पढ्ने १६ वर्षीय राहुलको एनपिएलमा धमाका, काठमाडौंविरुद्ध लिए ४ विकेट

29 October, 2026 61 Views
कक्षा ९ मा पढ्ने १६ वर्षीय राहुलको एनपिएलमा धमाका, काठमाडौंविरुद्ध लिए ४ विकेट
61

काठमाडौं । नेपाली क्रिकेटमा नयाँ प्रतिभाका रूपमा उदाउँदै गरेका जनकपुर बोल्ट्सका १६ वर्षीय बलर राहुल यादवले नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गरेका छन्। कक्षा ९ मा अध्ययनरत राहुलले बिहीबार काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिँदै आफ्नो बलिङ क्षमता प्रमाणित गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा राहुलले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर चार विकेट लिए। उनले साम हेजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई पभेलियन फर्काए। उनको प्रभावशाली बलिङसँगै काठमाडौंको ब्याटिङ दबाबमा परेको थियो।

काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले आठ विकेट बाँकी छँदै पूरा गर्दै प्रतियोगितामा जित निकालेको थियो।

राहुलका लागि यो एनपिएलको दोस्रो खेल हो। यसअघि कर्णाली याक्सविरुद्धको डेब्यू खेलमै उनले १५ रन खर्चेर दुई विकेट लिएका थिए। पहिलो खेलमा केही नर्भस भए पनि विकेट लिन सफल भएपछि आत्मविश्वास बढेको उनले बताएका छन्। काठमाडौंविरुद्ध पहिलो बलमै विकेट लिन सकेपछि थप उत्साहित भएको उनको भनाइ छ।

मधेश प्रदेशको रौतहटस्थित चन्द्रपुरका राहुलले खुला मैदानबाट क्रिकेट खेल्न सुरु गरेका थिए। पछि चन्द्रपुर क्रिकेट एकेडेमीमा आफ्नो बलिङ कौशल निखारेका उनले कम उमेरमै तीव्र गतिमा बलिङ गर्ने क्षमताका कारण ध्यान आकर्षित गर्न थालेका हुन्।

जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट छनोट भएका राहुल आइकोनिक खेलाडीका रूपमा टोलीमा आबद्ध भएका थिए। स्थानीयस्तरमा क्रिकेट खेल्दै आएका उनी प्रतिभा छनोट प्रतियोगितामार्फत देशकै प्रमुख फ्रेन्चाइज क्रिकेट प्रतियोगितासम्म पुग्न सफल भएका हुन्।

एनपिएलअघि चन्द्रपुर क्रिकेट लिगमा समेत राम्रो प्रदर्शन गरेका राहुलले त्यहाँ म्यान अफ द म्याचको उपाधि जितेका थिए। अहिले एनपिएलमा लगातार प्रभावशाली प्रदर्शन गर्दै उनले नेपाली क्रिकेटमा सम्भावना बोकेका युवा खेलाडीका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन्।

क्रिकेटको औपचारिक अनुभव र ठूलो प्रतियोगितामा खेल्ने अवसरलाई सदुपयोग गर्दै आएका राहुलको प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ प्रतिभाको खोजी र विकासको सम्भावनालाई थप उजागर गरेको छ।

Related Post