काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र काठमाडौंबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। काठमाडौं भने यस सिजनको पहिलो खेल खेल्दै जितसहित प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।
जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन् भने काठमाडौंको नेतृत्व करण केसीले सम्हाल्दैछन्।
आजको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। साँझ ४ः३० बजे सुरु हुने खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा विराटनगर पोखरा एभेन्जर्ससँग आठ रनले पराजित भएको थियो। कर्णाली भने जनकपुरलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ।
विराटनगरको कप्तानी सन्दीप लामिछाने र कर्णालीको कप्तानी सोमपाल कामीले गरिरहेका छन्।