काठमाडौं। भुटानको उत्तरी जिल्ला गासामा हिमतालबाट आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले सडकका विभिन्न खण्ड बगाउनुका साथै चर्चित गासा त्साचु तातोपानी कुण्डसमेत पूर्ण रूपमा बगाएको छ।
भुटानी सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ सिन्ताफु हिमतालबाट आएको पानीका कारण बाढी आएको आशंका गरिएको छ। यद्यपि हिमताल पूर्ण रूपमा फुटेको हो वा तालको कुनै भागबाट मात्रै पानी बाहिरिएको हो भन्ने पुष्टि भइसकेको छैन।
डेली भुटानका अनुसार बिहीबार साँझ करिब ८ः१५ बजे बाढीको पानी तक्त्सेमाखाङ क्षेत्रमा पुगेको थियो। बाढीले लाया जाने सडकमा क्षति पुर्याउनुका साथै पुनाखा–गासा सडकको करिब ३१.८५ किलोमिटर बिन्दुमा रहेको खण्ड पूर्ण रूपमा बगाएको छ। सडक क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा यातायात सेवा बन्द गरिएको छ।
बाढीले गासा जिल्लाको चर्चित गासा त्साचु तातोपानी कुण्डसमेत बगाएको छ। अन्य भौतिक संरचनामा पनि क्षति पुगेको आशंका गरिए पनि त्यसको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सचेत गराउन साइरनसमेत बजाइएको थियो। शुक्रबार बिहानसम्म प्राप्त विवरणअनुसार बाढीमा परी कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन।
बाढीको प्रभाव भारतसम्म पुग्न सक्ने आशंकापछि पश्चिम बंगाल र आसामका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सिन्ताफु हिमतालबाट निस्किएको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ। त्यहाँ फो छु नदीसँग मिसिएपछि पुनात्साङ्छु नदी बन्छ। यही नदी भारत प्रवेश गरेपछि सन्कोस नदीका रूपमा चिनिन्छ।
नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने मानिसलाई नदी किनारबाट टाढा रहन र आवश्यक परे सुरक्षित स्थानमा जान भारतीय अधिकारीहरूले आग्रह गरेका छन्।
सिन्ताफु हिमताल भुटानको लाया क्षेत्रस्थित वाकिला हिमाल नजिक अवस्थित छ। भुटानमा हिमताल फुटेर बाढी आउन सक्ने जोखिम भएका १७ वटा ताल पहिचान गरी निगरानी तथा अध्ययन हुँदै आएको छ।
सन् २०२३ को मे र जुन महिनामा पनि सिन्ताफु हिमतालको अध्ययन गरिएको थियो। त्यस क्रममा तालको आकार, वरपरको भूभाग, पानी थुनेर राख्ने ढुंगा–माटोको बाँध र नजिकैको हिमनदीको अवस्थाबारे अध्ययन गरिएको थियो। तालको अवस्थाबारे नियमित जानकारी लिन निगरानी उपकरणसमेत जडान गरिएको थियो।
भुटानले जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन विभिन्न उपाय अपनाउँदै आएको छ। थोरथोर्मी हिमतालमा पाइपमार्फत पानी बाहिर निकालेर सतह घटाउने व्यवस्था गरिएको छ।
तर, सिन्ताफु हिमतालबाट पानी बाहिरिनुको वास्तविक कारण, बाहिरिएको पानीको मात्रा र तालको वर्तमान अवस्थाबारे स्पष्ट जानकारी प्राप्त भएको छैन। थप बाढी आउने सम्भावना र भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहेको डेली भुटानले जनाएको छ।