काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउने भएको छ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बिहीबार शपथग्रहण सम्पन्न भएपछि कांग्रेसले विवरण अद्यावधिकको प्रक्रिया अघि बढाएको हो। यसका लागि बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई आवश्यक समन्वय र प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको थियो।
कार्यवाहक मुख्यसचिव दुलालका अनुसार निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण अद्यावधिक गराउन कांग्रेसको टोली आज निर्वाचन आयोग जानेछ। आयोगमा उनीहरूको तस्बिरसहितको विवरण र आवश्यक कागजात पेस गरिने उनले जानकारी दिएका छन्।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट सभापतिमा गगन थापासहित पदाधिकारी र केन्द्रीय सदस्य गरी २३१ जना निर्वाचित भएका थिए।
यद्यपि कांग्रेसले अझै चार सहमहामन्त्री, एक कोषाध्यक्ष, प्रवक्ता, आवश्यक परे सहप्रवक्ता तथा ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।
राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार महाधिवेशनपछि निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने भएकाले कांग्रेसले उक्त प्रक्रिया अघि बढाएको हो।