शबाना आजमीदेखि मार्को मुलरसम्मको जमघट, आजदेखि काठमाडौं फिल्म फेस्टिभल

30 October, 2026 56 Views
शबाना आजमीदेखि मार्को मुलरसम्मको जमघट, आजदेखि काठमाडौं फिल्म फेस्टिभल
56

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ आजदेखि सुरु हुँदैछ। आगामी आइतबारसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार, निर्देशक र चलचित्र क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।

काठमाडौंको मौलिक कला, संस्कृति, परम्परा र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा तथा भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत सहभागी हुँदैछन्।

महोत्सवमा विभिन्न देशका चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, रेड कार्पेट तथा पुरस्कार वितरण कार्यक्रमसमेत आयोजना गरिने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

महोत्सवको पहिलो दिन आज वसन्तपुरमा सम्पदा यात्रा र उद्घाटन समारोह हुनेछ। कार्यक्रम साँझ ५ः३० बजे सुरु हुने तालिका छ।

दोस्रो दिन शनिबार नेपाल पर्यटन बोर्डमा अभिनेत्री शबाना आजमीले ‘फिल्म्स्, फेस्टिभल्स एण्ड अ लाइफ वेल लाइभ्ड’ विषयमा अन्तरसंवाद गर्नेछिन्। सोही दिन दीप्ति डीकुन्हाले ‘सिर्जनात्मक सहरहरूको प्रवर्द्धनका लागि फिल्म र महोत्सव’ विषयमा छलफल गर्ने कार्यक्रम छ। जापानी निर्देशक ताकायुकी नाकामुराले राष्ट्रिय सभागृहमा यामागाता युनेस्को फिल्म सिटीका लघु चलचित्रबारे प्रस्तुति दिनेछन्।

आइतबार सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलरले चलचित्र सौन्दर्यशास्त्रसम्बन्धी मास्टर क्लास सञ्चालन गर्नेछन्। यसै दिन ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य’ विषयमा प्यानल छलफल पनि हुनेछ।

महोत्सवको अन्तिम दिन राष्ट्रिय सभागृहमा रेड कार्पेट, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’को विशेष प्रदर्शन र पुरस्कार वितरण समारोह आयोजना गरिनेछ। ‘कुमारी’ चलचित्रको पनि विशेष प्रदर्शन हुनेछ।

अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत चिनियाँ चलचित्र ‘डियर यु’, भारतीय चलचित्र ‘बयान’, कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’ र अमेरिकी चलचित्र ‘द गडफादर’ लगायत विभिन्न देशका चलचित्र जय नेपाल सिनेमा हलमा प्रदर्शन गरिनेछन्।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाल पानोरामा सर्टस्’ र ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकमा युवा भिडियो च्यालेन्जसमेत आयोजना गरिएको छ। नेपाल पानोरामा सर्टस्का लागि प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट भएका छन्। छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै, युवा भिडियो च्यालेन्जमा प्राप्त ३५ भिडिओमध्ये ११ वटा छनोट गरिएको छ। उत्कृष्ट तीन भिडिओले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

महोत्सवमा दर्शकले निःशुल्क चलचित्र हेर्न पाउनेछन्। तर, सिट सुरक्षित गर्न भने निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।

काठमाडौंको मौलिक पहिचानलाई विश्वमाझ पुर्‍याउने, स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने र चलचित्र उद्योगसँगै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको महानगरपालिकाले जनाएको छ।

Related Post