इनर्जी ड्रिंक्स सेवनमा सतर्क रहन विभागको आग्रह, बालबालिका र गर्भवतीलाई नपिउन सुझाव

29 October, 2026 60 Views
इनर्जी ड्रिंक्स सेवनमा सतर्क रहन विभागको आग्रह, बालबालिका र गर्भवतीलाई नपिउन सुझाव
60

काठमाडौं । इनर्जी ड्रिंक्सको बढ्दो प्रयोगसँगै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता पेय पदार्थको सेवनमा सावधानी अपनाउन आग्रह गरेको छ। विभागले विशेषगरी क्याफिनको मात्रा, उत्पादनको लेबलमा उल्लेखित चेतावनी र सुरक्षित सेवनसम्बन्धी निर्देशन पालना गर्न उपभोक्तालाई सचेत गराएको छ।

विभागले इनर्जी ड्रिंक्सबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खाद्य स्वच्छता, गुणस्तर र जनस्वास्थ्यको संरक्षणमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

विभागका अनुसार इनर्जी ड्रिंक्स अल्कोहलरहित तर क्याफिनयुक्त पेय पदार्थ हुन्। यस्ता पेयमा क्याफिनसँगै ग्वाराना, टाउरिन, ग्लुकुरोनोल्याक्टोन, इनोसिटोल, कार्निटिन, बी भिटामिन, चिनी र पानीलगायतका सामग्री प्रयोग गरिन्छ। उत्पादनअनुसार यी सामग्रीको मात्रा र संयोजन फरक हुन सक्ने भएकाले सेवन गर्नुअघि लेबलमा उल्लेखित विवरण पढ्न विभागले सुझाव दिएको छ।

विभागले युरोपेली खाद्य सुरक्षा प्राधिकरण र अमेरिकी खाद्य तथा औषधि प्रशासनलगायतका अन्तर्राष्ट्रिय संस्थाका सन्दर्भ दिँदै स्वस्थ वयस्कले चिया, कफी, चकलेट र इनर्जी ड्रिंक्ससहित सबै स्रोतबाट दैनिक ४०० मिलिग्रामभन्दा बढी क्याफिन सेवन नगर्न सुझाव दिएको छ। क्याफिन विभिन्न पेय तथा खाद्य पदार्थमा समेत पाइने भएकाले दिनभरि सेवन गरिएका सबै स्रोतको कुल मात्रा ख्याल गर्नुपर्ने विभागको भनाइ छ।

नेपालमा इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १७ वटा उद्योगले सम्बन्धित सरकारी निकायबाट अनुमति लिएको विभागले जनाएको छ। विभागका अनुसार लेबल विवरण र प्रयोगशाला परीक्षण प्रतिवेदनका आधारमा ती उत्पादनमा क्याफिनको मात्रा प्रतिक्यान १०० मिलिग्राम रहेको र तोकिएको सुरक्षित सीमाभित्र पाइएको उल्लेख गरिएको छ।

बालबालिका र गर्भवतीलाई सेवन नगर्न सुझाव

विभागले बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, मधुमेहलगायतका स्वास्थ्य समस्या भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न सुझाव दिएको छ।

क्याफिनले व्यक्तिको स्वास्थ्य अवस्था र संवेदनशीलताअनुसार फरक प्रभाव पार्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने विभागको भनाइ छ। इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिले समेत उत्पादनको लेबलमा उल्लेखित चेतावनी र सेवनसम्बन्धी निर्देशन पालना गर्नुपर्नेछ।

त्यस्तै, इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, महलगायतका पदार्थमा मिसाएर सेवन नगर्न विभागले आग्रह गरेको छ। यस्ता पेयलाई पौष्टिक पेयको विकल्पका रूपमा प्रयोग नगर्न र त्यसमा रहेका चिनी तथा अन्य सामग्रीबारे समेत सचेत रहन विभागले उपभोक्तालाई अनुरोध गरेको छ।

लेबलमा स्पष्ट चेतावनी राख्न उत्पादकलाई निर्देशन

विभागले इनर्जी ड्रिंक्स उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार मात्रै उत्पादन र बिक्रीवितरण गर्न निर्देशन दिएको छ। उत्पादनको विज्ञापन गर्दा सम्बन्धित निकायबाट आवश्यक अनुमति लिनुपर्ने र उपभोक्ताले सहजै बुझ्ने गरी सामग्रीको विवरण, क्याफिनको मात्रा तथा सुरक्षित सेवनसम्बन्धी चेतावनी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने विभागले जनाएको छ।

विभागका अनुसार उपभोक्तालाई उत्पादनको प्रकृति र सुरक्षित सेवनबारे सही जानकारी उपलब्ध गराउनु उत्पादक तथा विक्रेताको दायित्व हो।

खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी नियम उल्लंघन गरी कानुनविपरीत कार्य गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

विभागले इनर्जी ड्रिंक्सबारे वैज्ञानिक अध्ययनमा आधारित तथ्य र जानकारी प्रसारण गर्न सञ्चारमाध्यमलाई समेत आग्रह गरेको छ। उपभोक्तामा भ्रम सिर्जना हुन नदिन र जनस्वास्थ्यको संरक्षण गर्न तथ्यपरक सूचना प्रवाह आवश्यक रहेको विभागको भनाइ छ।

Related Post