काठमाडौं । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावले नेपालमा मौसम प्रतिकूल बन्न सक्ने चेतावनी दिइएको छ। विभिन्न प्रदेशमा भारी वर्षा, तीव्र हावाहुरी र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्नेछ। यसबाट मेघगर्जन, चट्याङ, तीव्र हावाहुरी तथा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले हवाई सेवा प्रभावित हुने जोखिम रहेको छ।
प्राधिकरणका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधिमा असर पर्न सक्नेछ। कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा समेत मौसमको प्रभाव देखिन सक्ने अनुमान छ।
कात्तिक १२ देखि १४ गतेसम्म मौसमको प्रभाव बढी पर्न सक्ने जनाउँदै प्राधिकरणले विमानस्थल सञ्चालन तथा उडान सुरक्षामा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशनात्मक आग्रह गरेको छ।
प्रतिकूल मौसमका कारण उडान रद्द हुन, समयतालिका परिवर्तन हुन वा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन प्राधिकरणले अनुरोध गरेको छ।