काठमाडौं । नेपालमा चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि.ले नयाँ अर्बन एसयुभी चेरी क्यूको डेलिभरी देशका पाँच प्रमुख सहरबाट सुरु गरेको छ।
कम्पनीका अनुसार काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा एकैसाथ डेलिभरी सेवा सुरु गरिएको हो। आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी ल्याइएको चेरी क्यू आकर्षक डिजाइन र नवीन प्रविधिका कारण चर्चामा छ।
विद्युतीय सवारीसाधन चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ। कम्पनीले यसले एकपटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने जनाएको छ। यसमा ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स र विद्युतीय रूपमा खोल्न तथा बन्द गर्न मिल्ने ७० लिटर क्षमताको फ्रङ्क स्पेससमेत उपलब्ध छ।
त्यस्तै, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सुविधाले यसलाई थप प्रविधिमैत्री बनाएको छ।
डिजाइनका हिसाबले पनि चेरी क्यूले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको छ। यसले सन् २०२५ को रेड डट डिजाइन अवार्ड र सन् २०२६ को आईएफ डिजाइन अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ।
नेपालका प्रमुख सहरमा डेलिभरी सुरु भएसँगै ग्राहकलाई सवारीसाधन उपलब्ध गराउने पहुँच विस्तार भएको कम्पनीको भनाइ छ। आकर्षक डिजाइन, आधुनिक प्रविधि र व्यावहारिक उपयोगितालाई प्राथमिकता दिएको चेरी क्यूले नेपाली विद्युतीय सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरिएको छ।