काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा शानदार पुनरागमन प्रदर्शन गर्दै अल नासरका लागि ९०८ दिनपछि ह्याट्रिक गरेका छन्। अल खलिजविरुद्ध बिहीबार भएको खेलमा तीन गोल गर्दै उनले लामो समयदेखिको प्रतीक्षा समाप्त गरेका हुन्।
खेलको पहिलो हाफ रोनाल्डोका लागि सुखद रहेन। उनले गरेको दुई गोललाई रेफ्री खालिद अल तुराइसले अफसाइड भन्दै मान्यता दिएनन्। लगातार गोल अस्वीकृत भएपछि रोनाल्डो मैदानमै असन्तुष्ट देखिएका थिए।
तर दोस्रो हाफमा उनले खेलको रूप नै बदलिदिए। खेलको ६६औँ मिनेटमा पोर्चुगिज सहकर्मी जोआओ फेलिक्सको पासमा गोल गर्दै रोनाल्डोले अल नासरलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि ७२औँ मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको ८१औँ मिनेटमा साडियो मानेको पासलाई जाली चुमाउँदै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल पूरा गरे। यससँगै उनको ह्याट्रिक पूरा भयो। पहिलो हाफमा दुई गोल गुमाएको निराशालाई उनले दोस्रो हाफमा तीन गोल गर्दै शानदार प्रदर्शनमा परिणत गरे।
रोनाल्डोले यसअघि सन् २०२४ मे ४ मा अल वेहदाविरुद्ध अल नासरका लागि अन्तिम ह्याट्रिक गरेका थिए। त्यसयता ९०८ दिनपछि उनले एउटै खेलमा तीन गोल गर्ने सफलता हात पारेका हुन्।
यस खेलमा गरेको तेस्रो गोलसँगै रोनाल्डोको व्यावसायिक फुटबल करिअरमा गोल संख्या ९८५ पुगेको बताइएको छ। अब उनी करिअरको ऐतिहासिक एक हजार गोल पूरा गर्न १५ गोल मात्र टाढा छन्।
४१ वर्षको उमेरमा पनि मैदानमा आफ्नो प्रभाव कायम राखिरहेका रोनाल्डोका लागि अब एक हजार गोलको ऐतिहासिक उपलब्धि मुख्य लक्ष्य बनेको छ।