एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग सरकारको निरन्तर संवाद

04 August, 2026 65 Views
एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग सरकारको निरन्तर संवाद
65

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि सरकार फिफासँग निरन्तर संवादमा रहेको बताएका छन्। उनले आगामी साफ च्याम्पियनसिप नेपाली टोलीले गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सरकारले आवश्यक पहल गरिरहेको पनि बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँगको छलफलमा मन्त्री पोखरेलले बाहिरबाट हेर्दा सरकारले कुनै पहल नगरेजस्तो देखिए पनि आफू मन्त्री भएपछि फिफासँग इमेलमार्फत नियमित रूपमा संवाद भइरहेको र समस्या समाधानको दिशामा अघि बढिरहेको जानकारी दिए।

उनले साफ च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता सुनिश्चित गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रतियोगितामा खेल्ने अवसर खेलाडीहरूको अधिकार भएकाले त्यसलाई जोगाउन हरसम्भव प्रयास भइरहेको बताए।

मन्त्री पोखरेलले अब एन्फाको नेतृत्व फुटबल बुझेको र खेल क्षेत्रको अनुभव भएको व्यक्तिले गर्नुपर्ने धारणा पनि राखे। यसले नेपाली फुटबलको विकास र संस्थागत सुधारमा सहयोग पुग्ने उनको विश्वास छ।

उनले वर्तमान सरकारले खेल क्षेत्रका लामो समयदेखि रोकिएका कामलाई अघि बढाएको दाबी गर्दै, चार महिनाको अवधिमै खेलाडीका लागि १० करोड रुपैयाँ नगद पुरस्कार घोषणा गरिएको जानकारी दिए। अघिल्लो सरकारले घोषणा गरेका पुरस्कारसमेत लामो समयसम्म वितरण हुन नसकेको अवस्थामा वर्तमान सरकारले त्यसलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

त्यसैगरी, यसपटक एसियन गेम्समा सहभागी हुने खेलाडीलाई अतिरिक्त खर्चको व्यवस्था गरेर पठाउने निर्णय पनि गरिएको मन्त्री पोखरेलले जानकारी दिए। सरकारले खेलाडीको मनोबल बढाउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता प्रभावकारी बनाउने गरी आवश्यक सहयोगलाई निरन्तरता दिने पनि उनले बताए।

Related Post