काठमाडौं। पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारले आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको छ। साथै, ग्यास आपूर्तिलाई नियमित र सहज बनाउन सम्बन्धित निकायबीच समन्वय बढाउने पनि निर्णय गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा ग्यास अभावको कारण, आपूर्तिको अवस्था र समाधानका उपायबारे सम्बन्धित मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा वितरण व्यवसायीसँग समीक्षा गरिएको हो।
छलफलमा व्यवसायीहरूले बजारमा हल्ला भएजस्तो ग्यासको वास्तविक अभाव नभएको बताएका छन्। पश्चिम एसियामा भएको द्वन्द्वपछि सरकारले केही समय ७ दशमलव १ किलोग्रामको आधा सिलिन्डर वितरण गरेको र अहिले फेरि १४ दशमलव २ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताको माग एक्कासि बढेको उनीहरूको भनाइ छ।
व्यवसायीका अनुसार अहिले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको छ। तर, उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास घरमै भण्डारण गर्न थालेकाले बजारमा अभाव देखिएको हो।
बैठकले ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लामा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायबीच समन्वयलाई तीव्र बनाउने निर्णय पनि गरेको छ।
मुख्य सचिव गोविन्दबहादुर कार्कीले ग्यास आपूर्तिको दीर्घकालीन समस्या समाधानका लागि सरकार सरोकारवालासँग निरन्तर छलफलमा रहने बताएका छन्।