काठमाडौं। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास आयोजना र जनजीविकासँग जोडिएका विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
भेटका क्रममा उनीहरूले गेटा विश्वविद्यालय सञ्चालन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, विद्युतीकरण, तटबन्ध निर्माण र सडक दुर्घटना न्यूनीकरण लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
त्यसैगरी, कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन, भन्सार समस्या, आरक्षपीडित, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान जस्ता स्थानीय समस्या समाधान गर्न पनि सरकारको पहल आवश्यक रहेको सांसदहरूले बताएका छन्।
भेटमा ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सांसदहरूको सहभागिता रहेको थियो।