काठमाडौं, साउन १९ — नेकपा एमालेले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, यी दुई समस्यालाई छुट्टाछुट्टै होइन, एउटै नीतिअन्तर्गत समाधान गर्नुपर्नेमा जोड दिएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद पद्मा अर्यालले सुकुमबासीको समस्या वर्षौंदेखि समाधान हुन नसकेको उल्लेख गर्दै यसलाई राजनीतिक मुद्दा बनाउनेभन्दा पनि दीर्घकालीन रूपमा समाधान गर्न सरकार र सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने बताइन्।
उनले एमाले नेतृत्वको सरकारले पहिलो पटक भूमि नीति र भू–उपयोग कानुन ल्याएको स्मरण गराउँदै अहिले भूमि वर्गीकरणको काम कार्यान्वयनको चरणमा पुगेको र त्यसले भविष्यमा भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउन आधार तयार गरेको दाबी गरिन्।
अर्यालले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या एकअर्कासँग जोडिएको विषय भएकाले छुट्टाछुट्टै नीति बनाएर समाधान सम्भव नरहेको बताइन्। त्यसैले एउटै कानुनी र नीतिगत ढाँचामा दुवै समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरिन्।
उनले सुकुमबासीको वास्तविक अवस्था र पीडा आफूहरूले नजिकबाट बुझेको उल्लेख गर्दै, सरकारले प्रभावकारी योजना बनाएर अघि बढे एमालेले आवश्यक सहयोग गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारिन्।
साथै, सरकारले वास्तविक भूमिहीन सुकुमबासीको पहिचान, व्यवस्थित बसोबासको व्यवस्था र भूमि व्यवस्थापनलाई प्रभावकारी बनाउँदै दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्नेमा पनि उनले जोड दिइन्।