काठमाडौँ, एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत समूह 'डी' को आफ्नो दोस्रो खेलमा नेपालले भुटानमाथि ५१ रनको सानदार जित दर्ता गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित 'कोलेज तुआन्कु जाफर ओभल' मैदानमा भएको खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रनमा समेटियो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निकै खराब सुरुवात गरे पनि अनुभवी खेलाडीहरूको साझेदारीले २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको सम्मानजनक योगफल तयार पारेको थियो। सीता रानामगर सर्वाधिक ३७ रन (२८ बल, ६ चौका),रुविना क्षेत्री २४ रन (२१ बल, ३ चौका),सोनी पाख्रिन १३ रन र सम्झना कुमारीले १० रन बनायका थिए।
भुटानका लागि घातक बलिङ गर्दै सोनाम र छिरिङ जाङ्मोले समान ३–३ विकेट लिए भने अन्जु गुरुङले २ विकेट झारिन्।
११४ रनको लक्ष्य पछ्याएको भुटान नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन। भुटानका लागि ओपनर डेचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि घातक बलिङ गर्दै पूर्व कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन्। त्यस्तै, रिया शर्माले २ तथा कविता कुँवर र मनिषा उपाध्यायले समान १–१ विकेट लिए।
आफ्नो पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको नेपालले यो जितसँगै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले अब समूह चरणको तेस्रो तथा अन्तिम खेल आगामी शनिबार हङकङसँग खेल्ने तालिका रहेको छ।