एसियन गेम्स छनोट: कुशल भुर्तेलको ऐतिहासिक शतक, एकै ओभरमा ६ छक्का हान्दै बनाए विश्व कीर्तिमान

31 May, 2026 281 Views
एसियन गेम्स छनोट: कुशल भुर्तेलको ऐतिहासिक शतक, एकै ओभरमा ६ छक्का हान्दै बनाए विश्व कीर्तिमान
281

 

काठमाडौँ, 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नयाँ इतिहास रचेका छन्। सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट अन्तर्गत चीनविरुद्धको खेलमा भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै एकै ओभरमा ६ छक्का प्रहार गर्ने र विष्फोटक शतक बनाउने ऐतिहासिक कीर्तिमान कायम गरेका हुन्।

खेलको नवौँ ओभरमा कुशल भुर्तेलले चीनका बलर चेन जुओ युए (Chen Zhuo Yue) विरुद्ध लगातार ६ बलमा ६ वटा छक्का प्रहार गरे। सो ओभरको पाँचौँ बलपछि बलरले एक वाइड बल फालेका थिए, जसका कारण उक्त ओभरबाट नेपालले कुल ३७ रन बटुल्न सफल भयो।

यो कीर्तिमानसँगै भुर्तेल अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो र विश्वकै छैटौँ खेलाडी बनेका छन्। यसअघि नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले सन् २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर यो उपलब्धि हासिल गरेका थिए।

भुर्तेलले मात्र ३५ बलमा ४ चौका र १२ छक्काको मद्दतले आफ्नो अन्तर्राष्ट्रिय टी-२० करियरको दोस्रो शतक पूरा गरे। उनी कुल ४३ बलमा १२९ रनको विशाल र विष्फोटक इनिङ्स खेलेर आउट भए, जसमा उनले कुल १६ छक्का र ५ चौका वर्षाएका थिए। ३०० को स्ट्राइक रेटमा खेलिएको यो इनिङ्स नेपालका लागि अन्तर्राष्ट्रिय टी-२० मा दोस्रो उच्च व्यक्तिगत स्कोर समेत हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि कुशल मल्लले अविजित ८५ रन र कप्तान रोहित पौडेलले मात्र २१ बलमा अविजित ६९ रनको योगदान दिएका थिए।

३१४ रनको विशाल लक्ष्य पछ्याएको चिनियाँ टोली नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन र २० ओभरमा ९२ रनमै समेटियो। परिणामस्वरुप, नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ। ऐतिहासिक इनिङ्स खेलेका कुशल भुर्तेल खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।

Related Post