एसियन गेम्स छनोट: कुशल भुर्तेलको ऐतिहासिक शतक, एकै ओभरमा ६ छक्का हान्दै बनाए विश्व कीर्तिमान

31 May, 2026 57 Views
एसियन गेम्स छनोट: कुशल भुर्तेलको ऐतिहासिक शतक, एकै ओभरमा ६ छक्का हान्दै बनाए विश्व कीर्तिमान
57

 

काठमाडौँ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नयाँ इतिहास रचेका छन्। सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट अन्तर्गत चीनविरुद्धको खेलमा भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै एकै ओभरमा ६ छक्का प्रहार गर्ने र विष्फोटक शतक बनाउने ऐतिहासिक कीर्तिमान कायम गरेका हुन्।

खेलको नवौँ ओभरमा कुशल भुर्तेलले चीनका बलर चेन जुओ युए (Chen Zhuo Yue) विरुद्ध लगातार ६ बलमा ६ वटा छक्का प्रहार गरे। सो ओभरको पाँचौँ बलपछि बलरले एक वाइड बल फालेका थिएजसका कारण उक्त ओभरबाट नेपालले कुल ३७ रन बटुल्न सफल भयो।

यो कीर्तिमानसँगै भुर्तेल अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो  विश्वकै छैटौँ खेलाडी बनेका छन्। यसअघि नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले सन् २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर यो उपलब्धि हासिल गरेका थिए।

भुर्तेलले मात्र ३५ बलमा ४ चौका र १२ छक्काको मद्दतले आफ्नो अन्तर्राष्ट्रिय टी-२० करियरको दोस्रो शतक पूरा गरे। उनी कुल ४३ बलमा १२९ रनको विशाल र विष्फोटक इनिङ्स खेलेर आउट भएजसमा उनले कुल १६ छक्का र ५ चौका वर्षाएका थिए। ३०० को स्ट्राइक रेटमा खेलिएको यो इनिङ्स नेपालका लागि अन्तर्राष्ट्रिय टी-२० मा दोस्रो उच्च व्यक्तिगत स्कोर समेत हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि कुशल मल्लले अविजित ८५ रन र कप्तान रोहित पौडेलले मात्र २१ बलमा अविजित ६९ रनको योगदान दिएका थिए।

३१४ रनको विशाल लक्ष्य पछ्याएको चिनियाँ टोली नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन र २० ओभरमा ९२ रनमै समेटियो। परिणामस्वरुपनेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ। ऐतिहासिक इनिङ्स खेलेका कुशल भुर्तेल खेलको 'प्लेयर अफ दि म्याचघोषित भए।

Related Post