काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो ।
विराटनगरलाई जितका लागि अन्तिम तीन ओभरमा २१ रन आवश्यक थियो । तर, चितवनका बलर कमलसिंह ऐरी र रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै खेलको नतिजा आफ्नो टोलीको पक्षमा पारे ।
१८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएपछि विराटनगर दबाबमा परेको थियो । उनले रुपेश सिंह र प्रतिश जिसीलाई खाता खोल्न नदिई पभेलियन फर्काए । १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जितको सम्भावना समाप्त भयो ।
कमलसिंह ऐरीले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । रिजन ढकालले दुई विकेट हात पार्दा रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक–एक विकेट लिए ।
विराटनगरका लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन जोडे । लोकेश बमले १४ बलमा २६ रन बनाए ।
रसेलले आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई जितको नजिक पुर्याएका थिए । उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरे । म्याथ्युजले १४ रन बनाए भने चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो ।
चितवनका ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रन बनाए । उनले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । देवले १५ बलमा १२ रन बनाए भने विकेटकिपर अर्जुन साउद तीन रनमा आउट भए ।
मलान १३औं ओभरमा आन्द्रे रसेलको बलमा आउट भएपछि रवि बोपारा र डान मोस्लीले चितवनको इनिङ्स सम्हाले । दुवैले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे ।
यस जितसँगै चितवनले एनपीएलमा महत्त्वपूर्ण दुई अंक जोडेको छ । प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।