एशियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई: फाइनलमा हङकङ १९ रनले पराजित

08 June, 2026 97 Views
एशियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई: फाइनलमा हङकङ १९ रनले पराजित
97

काठमाडौँ
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सिङ्गापुरमा जारी एशियन गेम्स पुरुष टि-२० क्वालिफायरको उपाधि जितेको छ। सोमवार सम्पन्न रोमाञ्चक तथा प्रतिष्पर्धात्मक फाइनल खेलमा नेपालले प्रतिद्वन्द्वी हङकङलाई डकवर्थ लुइस (DLS) नियमका आधारमा १९ रनले स्तब्ध पार्दै क्वालिफायरको च्याम्पियन बनेको हो। सेमिफाइनलमा ओमानलाई सहजै पाखा लगाएको नेपालले फाइनलमा पनि आफ्नो अपराजित यात्रालाई कायम राख्न सफल भयो।

टस जितेर पहिले बलिङ रोजेको नेपालसामु हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रनको बलियो योगफल खडा गरेको थियो। हङकङका लागि अंशुमन राथले सर्वाधिक ८० रन र शाहिद वासिफले ५५ रनको योगदान दिएका थिए। नेपालका तर्फबाट बलिङमा शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३२ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट चट्काए भने करण केसीले २ विकेट लिए।

१ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले विष्फोटक सुरुवात गर्‍यो। नेपालले ११.३ ओभरमा २ विकेट मात्र गुमाएर १ सय १४ रन बनाइसकेको अवस्थामा खेल वर्षाका कारण रोकिएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै मात्र ४० बलमा ८ चौका र ३ छक्काको मद्दतले ६५ रनको सानदार इनिङ खेले। यस्तैकप्तान रोहित पौडेल २५ बलमा ३५ रन बनाएर क्रिजमा टिकिरहेका थिए।

वर्षा नरोकिएपछि खेलको नतिजा डकवर्थ लुइस (DLS) प्रणालीबाट निकालिएको होजसमा ११.३ ओभरको खेल सकिँदा नेपालको पार स्कोर (Par Score) भन्दा १९ रन बढी भएकाले नेपाललाई विजेता घोषित गरियो। खेलमा उत्कृष्ट बलिङ गरेका नेपालका शेर मल्ल 'प्लेयर अफ द म्याच' चुनिए।

यसअघि नै प्रतियोगिताको शीर्ष चारमा पर्दै नेपाल आगामी सेप्टेम्बरमा जापानको आइची-नागोयामा आयोजना हुने एशियन गेम्स २०२६ (Asian Games 2026) का लागि छनोट भइसकेको थियो। समूह चरणमा चीन र मलेसियामाथि विशाल जित निकाल्दै सेमिफाइनल पुगेको नेपालले ओमानलाई ८ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो। उपाधि नै जितेर च्याम्पियन बनेसँगै नेपाली क्रिकेट टोलीको मनोबल थप उच्च भएको छ।

Related Post