काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई गठबन्धन व्यवस्थापन, पद बाँडफाँट र सत्ताकेन्द्रित राजनीतिबाट बाहिर निकाल्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै थापाले पार्टी संगठनको आगामी दिशाबारे तीन महत्वपूर्ण विषयमा समीक्षा गरेका हुन्। उनको प्रतिवेदनमा विगतका कमजोरी स्वीकार गर्दै कांग्रेसलाई नयाँ राजनीतिक र संगठनात्मक बाटोमा अघि बढाउने प्रस्ताव गरिएको छ।
थापाले कांग्रेसलाई निर्वाचनमा भाग लिने राजनीतिक दल मात्र नभई राष्ट्रिय शक्ति भएको उल्लेख गरेका छन्। उनका अनुसार कांग्रेसको भूमिका चुनावी अंकगणितमा सीमित हुन सक्दैन। संकटका बेला लोकतान्त्रिक दिशा दिने, विभाजित समाजलाई जोड्ने तथा नागरिकको अधिकार र साझा भविष्यको जिम्मेवारी लिन सक्ने पार्टीका रूपमा कांग्रेसले आफूलाई स्थापित गर्नुपर्ने उनको निष्कर्ष छ।
उनले राजनीतिलाई गठबन्धन व्यवस्थापन र पद बाँडफाँटमा मात्र सीमित गर्ने प्रवृत्तिले कांग्रेसको राष्ट्रिय दायित्व पूरा हुन नसक्ने बताएका छन्।
त्यस्तै, थापाले २०६२/६३ देखि २०८२ सम्मको दुई दशकलाई पार्टीका उपलब्धि र कमजोरी दुवैका आधारमा समीक्षा गर्नुपर्ने बताएका छन्। संविधान निर्माणपछि पनि कांग्रेसले आफ्ना राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको तथा त्यसका कारण नागरिकसँगको विश्वास कमजोर बनेको उनको प्रतिवेदनमा उल्लेख छ।
निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको कारण खोज्दा विगतका राजनीतिक अभ्यास र पार्टीभित्रको कमजोरीसमेत गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने थापाको निष्कर्ष छ।
तेस्रो बुँदामा उनले लोकतन्त्रको विकल्प कम लोकतन्त्र नभई अझ गहिरो, प्रभावकारी र परिणाममुखी लोकतन्त्र हुनुपर्ने बताएका छन्। नागरिकमा राजनीतिक दल र संस्थाप्रति बढेको असन्तुष्टिको कारण बुझेर सुधार गर्नुपर्ने भए पनि त्यसको समाधान नागरिक अधिकार र संस्थागत स्वतन्त्रता कमजोर बनाउने बाटोबाट खोज्न नहुने उनको धारणा छ।
थापाले कांग्रेसभित्र देखिएको गुटबन्दी, भागबन्डा र सत्तामुखी प्रवृत्तिले पार्टी र नागरिकबीच दूरी बढाएको स्वीकार गर्दै संगठनलाई पुनर्संरचना र रूपान्तरण गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।