काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले तुच्छ टिप्पणी नगरेको बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले प्रधानमन्त्रीले तुच्छ टिप्पणी गर्न मिल्छ भन्ने प्रश्न गरेपछि मन्त्री पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरेका हुन्।
उनले प्रधानमन्त्रीले गरेको टिप्पणी काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा खुलामञ्चसँग सम्बन्धित विषयमा आफूले गरेको कामको सन्दर्भमा आएको बताए।
‘तुच्छ टिप्पणी भएको छैन त्यस्तो। उहाँ महानगरपालिकामा हुँदा त्यो बनाएको थियो, त्यसकै बारेमा कुरा गर्नुभएको हो,’ पोखरेलले भने।
प्रधानमन्त्री शाहले आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन कार्यक्रमलाई लक्षित गर्दै आफ्नो फेसबुक पेजमार्फत टिप्पणी गरेका थिए।
उनले लेखेका थिए, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए। कतिपयले उनको टिप्पणीलाई तुच्छ भन्दै आलोचना गरेका थिए।