काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका पाँचवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बैठकले स्वच्छ ऊर्जा रूपान्तरणका लागि नर्वे सरकारको अनुदान स्वीकार गर्नेदेखि जेन–जी आन्दोलनसँग सम्बन्धित मुद्दाको प्रतिवेदन गृह मन्त्रालय पठाउनेसम्मका निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बैठकले गरेका निर्णयबारे जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्का निर्णय यस्ता छन् :
१. नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने।
२. नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
३. वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने।
४. जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने।
५. सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।