नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक

05 October, 2026 69 Views
नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक
69

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक आह्वान गरेका हुन्।

नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पार्टीको आगामी महाधिवेशन र दुईमहिने अभियानबारे छलफल हुनेछ। बैठकले महाधिवेशनको कार्यतालिकासमेत तय गर्ने तयारी छ।

‘महाधिवेशन र पार्टीको दुईमहिने अभियानबारे छलफल गर्न बैठक आह्वान गरिएको हो। त्यसबाहेक अरू एजेन्डा छैन। बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्छ,’ प्रवक्ता ज्वालाले भने।

यद्यपि, बैठकमा नेता झलनाथ खनालले अघि बढाएको समाजवादी जागरण अभियानबारे पनि छलफल हुन सक्ने एक नेताले बताएका छन्।

उनका अनुसार खनालले पार्टी छाडेको चर्चा बाहिर भए पनि उनले यसबारे पार्टीलाई औपचारिक जानकारी गराएका छैनन्। पार्टी कारबाहीमा परेका नेताहरूसँग मिलेर अभियान घोषणा गरेको विषयमा बैठकमा छलफल हुन सक्ने ती नेताको भनाइ छ।

‘बाहिर पार्टी छाडेको भनेर चर्चा भइरहेको छ। तर उहाँले त्यस्तो कुनै जानकारी गराउनुभएको छैन। पार्टी कारबाहीमा परेका नेताहरूसँग मिलेर अभियान घोषणा गर्नुभएको छ। यो छलफलको विषय बन्छ,’ ती नेताले भने।

आगामी बैठकमा खनाल स्वयं उपस्थित भएर अभियानबारे स्पष्ट पार्दा उपयुक्त हुने ती नेताको भनाइ छ।

Related Post