काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता, जनप्रतिनिधि र कार्यकर्ताका लागि नयाँ राजनीतिक आचारसंहिता अघि सारेको छ।
काठमाडौंमा जारी १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीले अब ‘के गर्ने र के नगर्ने’ भन्ने स्पष्ट मापदण्ड तय गरेको हो।
प्रस्तावअनुसार कांग्रेसले आगामी निर्वाचनमा पूर्वनिर्वाचन गठबन्धन नगर्ने, भ्रष्टाचारको आरोप लागेकालाई राजनीतिक संरक्षण नदिने र पैसा वा गुटका आधारमा टिकट नदिने नीति लिएको छ।
त्यस्तै, संवैधानिक नियुक्तिमा दुई वर्षको ‘कुलिङ अफ’ लागू गर्ने र बिचौलियाको प्रभाव रोक्ने प्रस्ताव गरिएको छ।
कांग्रेसले यी प्रतिबद्धता नेताको इच्छामा मात्र निर्भर नरहने जनाएको छ। विधान, कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षामार्फत मापदण्ड लागू गर्ने प्रस्तावमा उल्लेख छ।
दस्तावेजमा अरूलाई सुनाउने मापदण्ड पहिले आफ्नै पार्टीमा लागू गर्न सक्नु नै कांग्रेसको विश्वसनीयताको आधार हुने उल्लेख गरिएको छ।