गोलबजारको संयुक्त श्रद्धाञ्जली कार्यक्रममा विवाद, सांसद तपेश्वर यादवलाई प्रहरीले बाहिर निकाल्यो

06 August, 2026 15 Views
गोलबजारको संयुक्त श्रद्धाञ्जली कार्यक्रममा विवाद, सांसद तपेश्वर यादवलाई प्रहरीले बाहिर निकाल्यो
15

काठमाडौं। सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनामा ज्यान गुमाएका चार जनाप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित हिन्दु–मुस्लिम समुदायको संयुक्त कार्यक्रममा विवाद भएको छ। प्रतिनिधिसभा सदस्य तपेश्वर यादवको मन्तव्यपछि कार्यक्रमस्थलमा भनाभन र होहल्ला भएपछि प्रहरीले हस्तक्षेप गर्दै उनलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।

उद्योग व्यापार संघ गोलबजारले बिहीबार आयोजना गरेको संयुक्त श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सांसद यादवले सुनसरी र गोलबजारका घटनाबारे सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको दाबी गरे। उनले घटनाका क्रममा गोली चलाउनुपर्ने अवस्था नरहेको र गोलबजार घटनाका बेला ड्युटीमा रहेका प्रहरी निरीक्षक, तत्कालीन डीएसपी, प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायको भूमिकामाथि पनि छानबिन भइरहेको बताए।

मन्तव्यका क्रममा यादवले केही राजनीतिक दल र गोलबजारकै केही स्थानीयका कारण घटना भएको आशय व्यक्त गरेपछि कार्यक्रममा सहभागी अन्य राजनीतिक दलका कार्यकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरी कार्यक्रमको अवस्था सामान्य बनाउँदै सांसद यादवलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सबिना मियाले नेपाल सबै समुदायको साझा देश भएकाले विभाजनको भावना त्यागेर सामाजिक सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउनुपर्ने बताइन्।

संयुक्त श्रद्धाञ्जली कार्यक्रममा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाशह मेहता, रविन्द्र मेहता तथा सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सहभागी अधिकांश वक्ताले सुनसरी र गोलबजारका घटनामा राज्य संयन्त्रको कमजोरी रहेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए।

उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साहका अनुसार आन्दोलनका क्रममा मुस्लिम समुदायका घर, पसल तथा व्यवसायमा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धतासहित संयुक्त श्रद्धाञ्जली कार्यक्रमपछि बन्द रहेका पसल खोल्ने सहमति भएको छ।

उल्लेखनीय छ, साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनाको प्रभाव साउन १४ गते सिरहाको गोलबजारसम्म फैलिँदा साम्प्रदायिक तनाव चर्किएको थियो। त्यस घटनामा चार जनाको ज्यान गएको थियो भने घर, पसल तथा अन्य संरचनामा तोडफोड र आगजनीसमेत भएको थियो।

कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद तपेश्वर यादवले आफूले कुनै गलत अभिव्यक्ति नदिएको दाबी गरे। उनले आफूले सत्य कुरा राख्दा अन्य राजनीतिक दलले अनावश्यक रूपमा विवाद सिर्जना गरेको आरोप लगाए।

Related Post