काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा सांसदहरूले सरकारसँग जवाफ मागेका छन्। राष्ट्रिय सभाको शून्य समयमा सांसदहरू पूजा चौधरी, रुक्मिणी कोइराला र रेणु चन्दलगायतले घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।
सांसद रेणु चन्दले ‘बच्ची हराएको सूचना गराउँदै गराउँदै पनि प्रहरीले बेलैमा किन एक्सन लिएन ?’ भन्दै सरकारसँग प्रश्न गरिन्।
प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका–१ दसधुरे टोलीकी ३ वर्षीया गरिमा घरबाटै हराएकी थिइन्। आमाले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई खबर गरेकी थिइन्। तर, उनको शव तीन दिनपछि छिमेकीको घरमा फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा १६ वर्षीय किशोर र उनको बयानका आधारमा २४ वर्षीय प्रोग्रेश चौधरी पक्राउ परेका छन्। सांसदहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।