काठमाडौं। ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ। घाइतेमध्ये २ जना पुरुष र ४ जना महिला रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार बस तीव्र गतिमा चलिरहेका बेला चालकले नियन्त्रण गुमाउँदा फ्लाइओभरको भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।
दुर्घटनाका कारण केही समय ग्वार्को क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीको सक्रियतापछि सडकमा सवारी सञ्चालन क्रमशः सामान्य बन्दै गएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।